गण्डकी प्रदेशसभा सदस्य डोबाटे विश्वकर्माले मन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार साँझ प्रदेशप्रमुख पृथ्वीमान गुरुङले उनलाई शपथ खुवाएका हुन् । विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सोमबार विहान विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । कांग्रेस निकट विश्वकर्मा तनहुँको क्षेत्र नम्बर १ को ‘क’बाट समानुपातिक सांसद हुन् ।
मन्त्री विश्वकर्मालाई जिम्मेवारी दिने मन्त्रालयको टुंगो भने लागेको छैन् । एमालेका पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकार ढलेपछि कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा गत जेठ २९ मा चार दलिय (कांग्रेस, माओवादी, जसपा, राजमो) गठबन्धनको सरकार बनेको थियो । मुख्यमन्त्री नियुक्त भएपछि नेपालीले विनाविभागीय चारजना मन्त्री नियुक्त गरि तत्कालीन प्रदेशप्रमुख सीता पौडेलबाट शपथ लिएका थिए । नियुक्त भएको भोलीपल्टै नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यता भएपछि तत्काललाई मन्त्रिपरिषद् विस्तार था“ती राखेका नेपालीले ४१ (साउन ८ मा) दिनपछि पुनः मन्त्रिपरिषद् विस्तार गरेका थिए । दोस्रोपटक मन्त्रि नियुक्त गर्दा डोबाटेको पनि नाम राखिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीमा नियुक्त भएको जानकारी गराउदा डोबाटे गृहजिल्ला तनहुँ थिए । दलित प्रतिनिधित्व भएको भन्दै डोबाटेलाई चौतर्फी बधाई आए । उनलाई शपथ कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को कार्यालयले बोलायो । बधाई पाएको केही छिनमै उनको मन झसंग भयो । कारण थियो, घर भएका डोबाटे शपथ कार्यक्रममा सहभागी हुन नयाँ दौरा सुरुवाल लगाएर पोखरा आउदै गर्दा बाटोमा मन्त्रीमा आफ्नो नाम काटिनु । मन्त्रीबाट नाम काटिएको खबर पाएपछि उनी बीच बाटोबाटै घर फर्किए । उनको ठाउँमा शिक्षा, संस्कृति, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठलाई नियुक्त गरियो । पार्टी सभापति शेरबहादुर देउवा लाइनका श्रेष्ठ पूर्व उपप्रधानमन्त्री एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठका आफन्ती हुन् ।
मन्त्रीको चर्चामा आएका स्याङ्जाकै प्रदेश सांसद भागवतप्रकाश मल्ललाई लत्याउदै गोपालमानले मेखलाललाई मन्त्री बनाएका थिए । गोपालमान देउवाका विश्वासिला पात्र मानिन्छन् । डोबाटे रामचन्द्र पौडेल लाइनका हुन् । थर नेपाली राख्दैमा मन सफा नहुने भन्दै मुख्यमन्त्रीको चौतर्फी विरोध भएको थियो । ११ मन्त्रीमध्ये महिलाको प्रतिनिधित्व जम्मा एक, दलितको प्रतिनिधित्व शुन्य भन्दै सरकारको विरोध हुन थालेपछि मुख्यमन्त्री नेपालीले डोबाटेलाई रिझाउनको लागि प्रदेशसभा अन्तर्गत विधायन समितिको सभापति बन्न आग्रह गरे । तर, विश्वकर्माले असन्तुष्टि जनाउदै सभापतिको पद अस्वीकार गरेका थिए । गठबन्धनको सरकार टिकाउनको लागि विश्वकर्मालाई मन्त्री थप गरिएको स्रोतले जनाएको छ । अहिले गण्डकीमा ११ मन्त्रालय छन् ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकार टिकाउनको लागि गुरुङ नेतृत्व सरकारले ७ मन्त्रालय फुटाएर एघार मन्त्रालय पुयाएको थियो । विश्वकर्मालाई मुख्यमन्त्रीले लिएको आन्तरिक तथा कानुन मन्त्रालय दिने सम्भावना बढी रहेको स्रोतले जनाएको छ । सरकारलाई सहयोग गरेको राजमो सरकारमा सहभागी भएको छैन् । मुख्यमन्त्रीसहित ११ मन्त्री रहेको गण्डकीमा जसपाका १, माओवादीका ४, एकजना स्वतन्त्र सांसद र बाँकी कांग्रेसका रहेका छन् ।
पार्टीलाई अन्याय गरेको महशुस भएपछि मलाई मन्त्री बनायो
सरकारको चौतर्फी विरोधपछि मन्त्री नियुक्त भएका दोबाटे विश्वकर्माले पार्टीलाई अन्याय गरेको महशुस भएपछि आफूलाई मन्त्री बनाएको बताएका छन् । ‘राजनीतिमा पार्टीको आन्तरिक कारण हुन्छ’ उनले भने, ‘पहिला मन्त्री बन्न सहिन । अहिले पार्टीलाई आवश्यकता भयो होला मलाई मन्त्री बनायो ।’ उनले संविधानले व्यवस्था गरेअनुसार सरकारमा दलितको प्रतिनिधित्व नभएपछि सरकारले संविधानको मर्मअनुसार आफूलाई मन्त्री बनाएको बताए । उनले मन्त्री बनेपनि शपथ नलिदासम्म भने आफू ढुक्क नभएको बताए ।
‘सपथ लिएको छु अव मन्त्रीको महशुस त काम गरेपछि नै थाहा होला’ उनले थपे । मुख्यमन्त्री नेपालीले विधान समितिको सभापति बन्न आग्रह गर्दा आफूलाई इच्छा नभएपछि अस्वीकार गरेको उनले बताए । सामान्य लेखपढ गरेका दोबाटेले २०३६ सालदेखी राजनीति यात्रा सुरु गरेका थिए । खेती किसानी नै उनको व्यवसाय हो । २०१२ सालमा तनहुँको अर्चलचौरमा जन्मिएका दोबाटे हाल व्यास नगरपालिका २ बस्दै आएका छन् । २०१७ मा जननिर्वाचित पहिलो प्रधानमन्त्री विपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले थुनामा राखेपछि विरोधमा उत्रिएका उनको परिवार गाउँ छाड्न बाध्य भएको थियो ।
‘त्यसपछि हामी भुमिगत भयौ’ उनले भने, ‘पिताकै प्रेरणले म राजनीतिमा लागेको हुँ ।’ २०४९ को स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका–२ बाट प्रतिनिधित्व गर्दै उनी वडा सदस्य भएका थिए । त्यसपछि २०५४ मा पनि वडा सदस्यमै मनोनित भए । २०५४ मा दलित संघको जिल्ला सभापति हुदै, सोही बर्ष दलित विकास समितिको बोर्ड सदस्य, २०६६ मा राष्ट्रिय दलित आयोगको सदस्य र २०६२ मा दलित संघको केन्द्रिय सदस्य भएका थिए । हालैपनि उनी दलित संघको केन्द्रिय सदस्य हुन् । मन्त्रिको शपथ लिएपनि कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने अझै टुंगो नलागेको उनले बताए । ‘छलफल र सल्लाह हुन बाँकी नै छ’ उनले भने, ‘दलित भएकै कारण पहिला अविश्वास गरियो । तरपनि त्यो बेला म केही बोलिन । अव काम गरेरै विश्वास दिलाउनेछु ।’ उनले अविश्वास गरिएका पात्र बोलेर भन्दा पनि काम गरेर देखाउनुपर्ने बताए । ‘मलाई अवसरसंगै चुनौति पनि छ’ उनले भने ।
गठबन्धनका मन्त्री नै असन्तुष्टि
दोबोटे विश्वकर्मालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरिएकोप्रति सरकारमा सहभागी गठबन्धनकै मन्त्री असन्तुष्टि बनेका छन् । सत्ता साझेदारी पार्टीसंग छलफल नगरि कांग्रेसले एकलौटी तरिकाले मन्त्री नियुक्त गरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । शपथ कार्यक्रममा माओवादी, स्वतन्त्र सांसद र जनता समाजवादी पार्टीका कुनै मन्त्री पनि सहभागी थिएनन् ।
‘हामीले पनि मन्त्री नियुक्त भएपछि खवर पायौ’ उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले भने, ‘दिउँसो (सोमबार) क्याविनेट मिटिङ थियो हामीले यस विषयमा छलफल गरेउ र शपथ कार्यक्रममा सहभागी हुदैनौ भन्यौ ।’ सरकारमा सहभागी सवै दलसंग छलफल गरेर मन्त्री नियुक्त गर्नुपर्नेमा कांग्रेसले आफ्नै शैलीले पार्टी कार्यालय चलाएजस्तै सरकार चलाउन थालेको आरोप उनको छ । उनले फेसबुकमार्फत कांग्रेस एकपछि अर्को बेइमान बन्दै गएको प्रतिक्रिया दिएका छन् । ‘जसपासंग समझदारी तोड्ने मात्र होइन, स्वेच्छाचारी बन्दै गएको छ । नाटकको पनि सिमा हुन्छ । केपीले हेप्दा यो गठबन्धन बन्यो याद गर कांग्रेस बाटो विराउदा के हालत हुन्छ ?’ उनले लेखेका छन् । माओवादीबाट प्रतिनिधित्व गरेका अर्थमन्त्री रामजी बरालले मन्त्री नियुक्त गर्दा परामर्श लिन आवश्यक नठानेपछि शपथ कार्यक्रममा पनि आवशयकता नपर्ने भन्दै सहभागी नभएको बताए ।
सत्ता साझेदार पार्टीसंगै छलफल नगरि एकलौटी निर्णय गर्दा बाहिर सन्देश राम्रो नजाने उनको भनाई छ । ‘व्यक्तिप्रति हाम्रो असन्तुष्टि होइन’ उनले भने, ‘सल्लाह गरेको भए राम्रो हुने थियो । अव यस विषयमा सल्लाह गरेर अघि बढ्छौ ।’