तत्कालीन भौतिक सचिवविरुद्ध भ्रष्टाचार मुद्धा

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तल्कालिन सचिव इश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । गोरखा नगरपालिका–३ जरेबरमा नारेश्वर जोड्ने गरी दुवैतर्फ बाटो नभएको ठाउँमा पुल बनाए भ्रष्टाचार गरेको आरोप उनलाई छ ।

अख्तियारले ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । जनताको करको पैसा दुरुपायेग गरेको उजुरी अख्तियारमा परेको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम पदको दुरुपयोग गरी मरहट्टाले राज्यको सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार मन्त्रालयका सचिव मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान, नाम र डिजाइन परिवर्तन स्वीकृत गरेको पाइएको छ ।

‘राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरुपयोग गरेर भ्रष्टाचार भएकोले’ अख्तियारको विज्ञप्तिमा भनिएको छ, ‘५ करोड ४५ लाख बिगो कायम गरी कैद र जरिवाना हुन अनि हानिनोक्सानी भएको बिगो मरहट्टाबाट असुल उपर हुन मागदाबी लिइएको छ ।’

प्रदेश पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक रामकुमार श्रेष्ठमाथि गुरु योजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा नपर्ने काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाइएको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो । अख्तियारले श्रेष्ठमाथि ५ लाख ७१ हजार विगो माग दाबी गरेको छ ।

यस्तै, पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानामाथि बदनियतपूर्वक गुरु योजना बनाएको आरोप छ । उनीमाथि काल्पनिक सडकको नाम दिई सार्वजनिक वन क्षेत्रको जथाभावी प्रयोग गरी बाटो बनाएर राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएको छ । अनि गैरकानूनीरुपमा सरकारी वनको नोक्सानी गरेको आरोप पनि लगाएको छ ।
दरौदी खोला पुलको डिजाइन गराई त्यसवापत भुक्तानी भएको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम अख्तियारले मरहट्टाविरद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *