तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

Share this post :

Facebook
Twitter
WhatsApp

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका प्रमुख चिकित्सक सागर घिमिरेले जानकारी दिएका छन । स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेको र सुत्केरी सेवा पनि नियमित सञ्चालन गरिएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत चार मध्ये तीन जनालाई कोरोना पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकाहरुलाई ज्वरो आउने, टाउको भारी हुने, खोकी लाग्ने, जीउ दुख्ने, नाकबाट लगातार सिँगान बगिरहने र घाँटी खसखस हुने जस्ता लक्षण देखिएका छन् । शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत १४ कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ ।
सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
शुक्लागण्डकी–४ दुलेगौडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा कार्यरत छ जना स्वास्थ्यकर्मी पनि कोरोना सङ्क्रमित भएका छन् । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले कर्मचारी र स्वास्थ्यकर्मी बढी सङ्क्रमित भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताएका छन ।
समुदायस्तरमै कोरोना फैलिरहेको र “अझै पनि स्वास्थ्यको मापदण्ड पालना नगरिएको र , बजारमा मास्क नलगाइकन हिँडडुल गरेको देखिन्छ ।
आँबुखैरेनी गाउँपालिकाका १४ कर्मचारी र स्वास्थ्यकर्मीलाई पनि सङ्क्रमण पुष्टि भएको छ । कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएपछि गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लामा ४२ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । हाल जिल्लामा तीन सय ८९ सक्रिय सङ्क्रमित छन् । गत वैशाखयता जिल्लामा पाँच हजार ७१२ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २५१ निको भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *