तालखोलामा ट्रस पुलः जोखिमपूर्ण यात्राको अन्त्य

Share this post :

Facebook
Twitter
WhatsApp

भत्किएको पुल । जहाँ आधा भाग खोलामा खसेको छ । पुलको सल्याबमाथि राखिएको बाँस र काठमा टेकेर स्थानीयबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

बर्खायाममा तालखोलामा आउने बाढीका कारण खोला वारपार गर्न सकिदैन् । जोखिम पुलबाट यात्रा गर्ने क्रममा यदी खसेमा खोलाले बगाउने स्थिति रहँदा पनि स्थानीयबासी ज्यानको जोखिम मोल्दै यात्रा गर्दै आएका थिए ।

अव स्थानीयबासीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । पोखरा महानगरपालिका–३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिलस्थित तालखोलामा ट्रस पुल निर्माण गरेपछि स्थानीयबासीको यात्रा सहज हुने भएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साझेदारीमा उक्त पुल निर्माण गरिएको हो । भौतिक मन्त्रालयको ६० र महानगरको ४० प्रतिशत लागत साझेदारी रहेकाे छ ।

पोखरा महानगरभित्र दुर्गम र विकट क्षेत्रको झल्को दिने हिसाबको भत्किएको पुलमा जोखिम मोलेर आवतजावत गर्नुपरेको स्थानीयबासीको गुनासो आएको आएपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले गत साउन १४ मा सो ठाउँको स्थलगत निरिक्षण गरेका थिए ।

इन्जिनियरको टोलीसहित निरिक्षणमा पुगेका मन्त्री जुग्जालीले १० दिनभित्र ट्रसय पुल निर्माण गर्न पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिए । झरी र बर्षातको समयमा वेल्डिङ गर्न नपाउँदा केही दिन ढिलाई गरि पुल जडान सम्पन्न भएको मन्त्री जुग्जालीले बताए । ‘राजनीतिक नेतृत्वले निर्देशन दिए जस्तो सजिलो काम गर्न रहेनछ’ उनले भने, ‘निरन्तर परेको झरीका कारण पुल बनाउन करिव एक महिना लाग्यो ।’

मन्त्री जुग्जालीको निर्देशन, प्रतिवद्धता र महानगर तथा मन्त्रालयको सहमति अनुसार एक महिनामै पुल तयार गर्न सम्भव भएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । गत आर्थिक वर्षमा पोखरा महानगरले पुल मर्मत गर्न बजेट व्यवस्थापन गरे पनि समन्वय अभावका कारण योजना कार्यान्वयन नभएको उनले बताए ।

पक्कि कल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका दुई सय घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थी तीन वर्षयता जोखिम मोलेर आवतजावत गर्दै आएका थिए । स्थानीय अनु कार्कीका अनुसार बर्खायाममा तालखोलामा बाढी आउँदा खोलाबाट वारपार बन्द हुने गरेको थियो ।

१० लाखको लागतमा १८ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख महेन्द्र बानियाँले बताए । ‘फलामको ट्रसको पुल बनाएर फिट गर्ने काम सकिएपछि आवतजावतका लागि प्रयोग भएको छ’ उनले भने, ‘पुलको दायाँबायाँ साइडबार राख्न बाँकी छ । झरि रोकिने वित्तिकै साइडबार वेल्डिङ गर्छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *