स्याङ्जाको आँधीखोला गाउँपालिका घर भई हाल पोखरा–२६ विजयपुर बस्दै आएकी २१ वर्षीया समीक्षा नेपालीलाई तिहार भित्रिएपछि फूल बगैँचा सम्हाल्न भ्याइनभ्याइ छ । यसै वर्षदेखि व्यवसाय थालेकी उनी यतिबेला फूल व्यवस्थापनमै व्यस्त छन् । बुधबारदेखि फूल बिक्रीमा लागेको उनले बताइन् ।
‘ढलेका फूलका बोट उठाउने, डोरीले बाँधेर सम्हाल्ने गरेकी छु,’ नेपालीले भनिन्, ‘पहिलोपल्ट रहरले लगाएको फूलमा ग्राहकको माग देख्दा निकै खुसी लागेको छ । रमाइलो अनुभूति गरेकी छु । बजारमा यस्तै माग रहिरह्यो भने यही व्यवसाय अगाडि बढाउने सोचमा छु ।’ उनीसँगै सरु रानाभाट र प्रमिला पौडेल पनि छन् । तीनैजना स्नातक पहिलो वर्षका जेटीए अध्ययनरत विद्यार्थी हुन् । विजयपुरमा २ रोपनी जग्गा भाडामा लिई २ लाख रुपैयाँको लागतमा उनीहरूले व्यावसायिक फूल खेती गरेका हुन् । अहिले उनीहरूको बगैँचामा सयपत्री फूलका ६ सय बोट छन् ।
नेपाली भन्छिन्, ‘हामी निकै उत्साहित छौं । बजारमा फूलको मूल्य राम्रो छ ।’ फूल प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री गर्छन् । रानाभाटका अनुसार एउटा माला दुई सय रुपैयाँमा बिक्री हुन्छ । प्रतिगोटा १० रुपैयाँ पर्छ । उनले पहिलोपल्ट फूल व्यवसाय गरेकाले अन्य जातका फूल भने नलगाएको बताइन् । फूलैफूलको पर्व भनेर चिनिने तिहार सुरु हुँदा पोखराका फूल व्यवसायीलाई यतिबेला फूल टिप्ने र बेच्ने चटारो छ ।
गोल्डेन नर्सरीका सञ्चालक एवं पुष्प व्यवसायी संघका पूर्वअध्यक्ष दयाकुमार द्वाले तिहारमा मात्रै साढे २ करोड रुपैयाँ बराबरको फूल कारोबार हुने बताए । जुनसुकै समयमा पनि फूलको माग रहेको बताउँदै उनले तिहारका बेला यसको माग बढी हुने बताए । ‘अहिले पनि पोखरामा दैनिक २ हजारदेखि २५ सय फूलका माला बाहिरबाट भित्रिन्छन,’ उनले भने, ‘यसलाई कसरी व्यवस्थापन गर्ने रु स्थानीयस्तरमा नै उत्पादन गरी माग सम्बोधन गर्न सक्ने हो भने फूलको बजार बाह्रैमास छ ।’
४ सय ५० जातका बिरुवा रहेको बताउँदै उनले तिहारलाई लक्षित दुईवटा फूलका बगैँचा ठेक्कामै बेचेको बताए । तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको व्यापार हुने द्वाको भनाइ छ । स्थानीय फूल नरहेको बताउँदै उनले सयपत्री फूलकै माग बढी रहेको बताए । पोखरा महानगर कृषि शाखा प्रमुख मनोहर कडरियाले पोखरामा उत्पादित फूलले ५० प्रतिशत माग सम्बोधन गर्ने बताए । ‘केही दिनअघि परेको वर्षाले फूलमा ठूलो क्षति पुर्यायो,’ उनले भने, ‘फूल सुकेका छन् । यदि पानी नपरेको भए ८० प्रतिशत माग स्थानीय फूलले नै पूरा हुने थियो ।’ पोखरामा धादिङ, चितवनलगायत क्षेत्रबाट फूल आउने र बेमौसममा भने भारतबाट पनि भित्रिने उनले बताए । गत वर्ष लकडाउनका कारण फूलको बजार नभएको बताउँदै उनले यस वर्ष फूलले राम्रो बजार पाउने बताए ।
फूल उत्पादन पनि बढ्दै गएको र फूल व्यवसायमा पनि आकर्षण बढ्दै गएको उनको भनाइ छ । ‘फूल व्यवसायमा नयाँ–नयाँ व्यवसायी आउने र विस्थापित हुने प्रचलन बढी छ,’ उनले थपे, ‘यही पेसालाई निरन्तरता दिएको पाइँदैन । एक वर्ष खेती गर्ने अर्को वर्ष विस्थापित हुने गरेका छन् । किसानलाई फूल व्यवसायमै टिकाउनका लागि महानगरले पहल गरेको छ ।’
