सहकारीमा राखेको बचत फिर्ता नपाएपछि खानको लागि समस्या भएको भन्दै विहीवार पोखराका सहकारीपीडितले थालमाथि चम्चा र ढुँगा लिएर विरोध प्रदर्शन गरेका छन् ।
सहकारी ठगी प्रकरणमा दोषीहरूलाई कारबाही र आफूहरूको बचत रकम फिर्ता हुनुपर्ने माग गर्दै उनीहरुले नियमित विरोध प्रदर्शन गर्दै आएका छन् । आज पनि सहकारीपीडितले पोखरा महानगरपालिका–१७ मुस्ताङचोकस्थित विरोध गरेका थिए । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिरसहकारी बचत पीडित संघ कास्कीको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।
गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्नुपर्ने र दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ । उक्त सहकारी प्रकरणमा प्रहरीले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी र तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेसहितलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ ।
लामिछानेलाई रिहाइ गर्न रास्वपाले सडक संघर्ष थालेपछि पीडितहरू पनि सडकमा उत्रिएर कारबाहीको माग गरिरहेका हुन् ।
यता, लामिछानेको पक्षमा रास्वपाले पनि प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरिएको बताएका छन् । केन्द्रिय नेतादेखि प्रदेश र जिल्लास्तरीय नेताले सम्बोधन गरेका छन् भने, विभिन्न ठाउँबाट रास्वपाका कार्यकता यतिबेला पोखरा आएका छन् । वाइचोकस्थित विरोध प्रदर्शन गरेका रास्वपाले सिर्जनाचोक पुगेर पुन वाइचोक नै आएर विरोध गरेको छ । प्रहरीले लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगेको छ । पूर्वडीआइजी छविलाल जोशी र लामिछानेलाई एकैपटक म्याद थपका लागि अदालत लगेको हो ।


