स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले दरौखोलामा माछा मार्न रोक लगाएको छ । शुक्रबार खोलामा माछाका भुरा छाडेपछि माछा मार्न पनि रोक लगाएको गापा प्रमुख प्रकाश तिवारीले बताए । उनका अनुसार विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ । मत्स्य विकास केन्द्र मिर्मिको सहयोगमा अर्जुनचौपारीले रहु र नैनी तीन हजार, गरदी चार हजार भुरा छाडेको हो ।
दरौखोला, केवरेखोला र दिर्जे खोलालाई माछापालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार पहिलोपटक खोलामा माछाका भुरा छाडेको अध्यक्ष तिवारीले बताए । खोलालाई पालिकाको आम्दानीको माध्यम बनाउन अवको १५ दिनभित्र थप ५ हजार माछाका भुरा छाड्ने योजना गापाको छ । खोलालाई माछामार्फत आयआर्जनमा जोडिएको र बिज्ञस“गको छलफल गरेर खोलामा माछाका भुरा राखिएको बताइएको छ । पालिकाले खोलाको तीन किलोमिटर क्षेत्रमा चार ठाउँमा भुरा हालेको हो भने आगामी आर्थिक बर्षमा एक लाख भुरा हाल्ने योजना बनाएको छ ।
परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिले समेत माछा मार्न नपाउने र दैनिक जिविकोपार्जनमा कठिनाई उत्पन्न हुने अवस्था आईपरेमा पालिकाले राहत उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत उज्वल बस्नेतले बताए । जिविकोपार्जनमा कठिनाई भएका व्यक्ति वा समुदायलाई पालिकामा राहतका लागि निवेदन दिन पालिकाले सूचितसमेत गरेको छ । पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ । पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाईएमा कानून बमोजिम कारवाही गरिने पालिकाले जनाएको छ ।
