कोराना भाइरस महामारी आउनुपूर्व यतिबेला पोखराका होटल तथा रेष्टुरेन्ट भरिभराउ हुन्थे । ९०÷९५ प्रतिशत भरिभराउ हुने ती होटल तथा रेष्टुरेन्टमा अहिले आउने पर्यटकको संख्या ३० प्रतिशतसमेत छैन् । दशैको पूर्वसन्ध्यामासमेत पोखराका होटल सुनसान जस्तै छन् ।
पोखरामा पर्यटकको संख्या घट्दै गएपछि होटल संघ पोखराले दशै–तिहारको अवसरमा ३० प्रतिशत छुटको अफर ल्याएको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार पत्रकारसंग भेटघाट गर्दै पर्यटक ल्याउनको लागि छुटको व्यवस्था गरिएको बताए । ‘अहिले पोखरा पर्यटक आउने सिजन हो, तर ३० प्रतिशत पनि पर्यटक आएका छैनन्’ उनले भने, ‘हामीले भन्नका लागि ४० प्रतिशत पर्यटक आएका छन् भनेर अनुमानित त भनेका छौ यर्थाथमा फरक छ ।’
केही समयअघि तनहुँँमा भएको धार्मिक पर्यटकको बस दुर्घटनाले पनि पोखरामा पर्यटक आउन छाडेको उनले बताए । अप्ठ्यारो बाटोका कारण भारतिय पर्यटकको संख्यामा ह्रवात्तै कमी आएको होटल संघले जनाएको छ । अध्यक्ष सुवेदीले पदयात्राका लागि पोखरा भन्दा बाहिर पर्यटक बढ्दो रहेको बताउदै पोखरामा केन्द्रित पर्यटक घट्दो रहेको सुनाए । पोखरामा धेरै चीन, भारत र कोरियाबाट बाह्य पर्यटक आउने गर्छन् । हवाई दुर्घटना, बस दुर्घटना, बाढी–पहिरो र अप्ठ्यारो सडकका कारण बाह्य पर्यटक आउन छाडेको व्यावसायीको गुनासो छ । संघका अनुसार आन्तरिक पर्यटकसमेत आउन छाडेका छन् । अध्यक्ष सुवेदीले यतिबेला होटलमा ६० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा ३० प्रतिशत पनि नभएपछि पोखरा सुरक्षित छ है भन्ने सन्देश दिनको लागि अफरको व्यवस्था गरिएको बताए ।
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नती कार्य धमाधम भइरहेको, राजमार्ग खुल्ला रहेको र पोखरा जोड्ने अन्य सडकसमेत सुरक्षित रहेको बताउँदै उनले आन्तरिक पर्यटकका लागि पनि पोखरामा कुनै समस्या नरहेको बताए । होटल संघका पुर्वअध्यक्ष हरि शर्मा गैह्रेले विगतमा जस्तो पोखरा बजार दशैको समयमा पनि चलायमान नरहेको गुनासो गरे ।