वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनमा आएको छ । दिसाजन्य लेदो ब्यवस्थापन शहरी क्षेत्रहरुमा चुनौतिकोरुपमा देखा परिरहेका बेला वालिङमा त्यसको ब्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
घर घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुल्ला ठाउँमा लगेर आँफुखुशी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोतहरु प्रदूषित हुन गएकाले त्यसको उचित ब्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
‘घरमा रहेका सेफ्टी ट्याङ्की दिसाजन्य लेदो भण्डारण गर्ने ट्याङ्की मात्रै हुन् त्यो भरिएपछि फाल्नका लागि समस्या थियो’ उनले भने, ‘अब नगरपालिकाले सञ्चालनमा ल्याएको प्लान्टमा सस्तो र सहजरुपमा ब्यवस्थापन गर्न सकिने भएको छ ।’
नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्याँस र कम्पोष्ट मल बनाउनुका साथै त्यहाँबाट निस्केको पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाईएको छ ।
नगरपालिकाले नेपाल नगरपालिका संघसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा एकीकृत फोहर व्यवस्थापन कार्यक्रम अन्तर्गत प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
‘प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्याँस निकाल्ने र पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने बनाउँछौं’ उनले भने, ‘सञ्चालनमा आएको यो प्लान्ट एकीकृत फोहरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिकास्तरमा नेपालकै पहिलो हो ।’
दिसापिसाबको व्यवस्थित संकलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया सरसफाइ प्रणाली हो । यो प्रणाली अन्तर्गत संकलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन रहेका वालिङ नगरपालिकाका ईञ्जिनियर दीपेन्द्र मल्लले बताए ।
‘घर घरमा निर्माण भएका सेफ्टी ट्याङ्कीहरु भरिएपछि त्यसको विसर्जनका लागि समस्या थियो’ ईञ्जिनियर मल्लले भने, ‘नगरपालिकाले प्लान्ट सञ्चालन गरेसँगै निजी ब्यवसायीबाट भन्दा सस्तो शुल्कमा त्यसको उचित ब्यवस्थापन गर्न थालिएको छ ।’
नगरपालिकालाई ६ हजार ५ सय शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने गरेको ईञ्निनियर मल्लले बताए ।
घर-घरमा निर्माण भएका सेफ्टी ट्याङ्की खाल्डो भरिएपछि खाली जमिन, खेतबारी, जङ्गलमा ट्याङ्कर मार्फत विसर्जन गरिँदै आएकामा प्लान्ट सञ्चालनमा आएसँगै थप ब्यवस्थित भएको ईञ्जिनियर मल्ल बताए ।
घर घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि ब्यवस्थापनमा निक्कै समस्या हुने गरेकोमा नगरपालिकाले उठाएर त्यसको उचित ब्यवस्थापन गर्ने भएपछि सहज भएको वालिङ ८ कटौंजेका शिवप्रसाद पाण्डेले बताए ।
‘निजी ब्यवसायीबाट यसअघि ट्याङ्की खाली गर्न पर्दा महङ्गो र मनपरी दररेट थियो’ पाण्डेले भने, ‘एकलौटी ब्यवसाय हुँदा महङ्गो पर्न गएपनि अब नगरपालिकाले सञ्चालन गरेपछि सस्तो र सहज हुने भएको छ ।’
नगरपालिकाले फोहरमैंला व्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट स्थान प्राप्त गरी पुरस्कृत भएसँगै वालिङमा बाहिरी जिल्ला, नगरपालिका तथा विभिन्न संघसंस्थाबाट अध्ययन अवलोकन भ्रमणका लागि आउने गरेका छन् ।
