देशभर ६१ प्रतिशत मतदान

Share this post :

Facebook
Twitter
WhatsApp

आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा निर्वाचन सम्पन्न भएको आयोगले जनायो ।
मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको छ । यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो । केही जिल्लाका मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकोमा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिसँगको छलफलपछि पुनः सुचारू भएको थियो ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौर लगायत अन्य ८ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको छ । स्थगन भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने निर्णय गर्न उपयुक्त प्रबन्ध मिलाइने आयोगले जनाएको छ ।
निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति निर्वाचन आयोगले धन्यवाद व्यक्त गरेको छ ।
निर्वाचनको सिलसिलामा निर्वाचन सामग्रीको प्रयोगमा बाधा पुर्‍याउने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको प्रक्रिया उल्लंघन गर्ने, मतेपटिकामा अन्य वस्तु खसाल्ने, पटक पटक मतदान गर्न खोज्ने, मतपत्र नष्ट गर्ने, मतदान स्थल कब्जा गर्ने लगायतका कार्यमा संलग्न जोसुकैलाई (निर्वाचन कसुर तथा सजय) ऐन २०७३ बमोजिम तत्काल कारवाही प्रारम्भ गर्न निर्देशन दिइएको छ ।
मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएको आयोगले जनाएको छ । मतपेटिकामा रहेका ती सबै मतपत्रलाई मतगणनाका समयमा जनताको अभिमत खेर जान नदिने गरी राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिको छलफलका आधारमा जुन तहका लागि खसेको मत हो सोही तहतर्फ गणना गर्ने गरी प्रबन्ध मिलाइएको छ । मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार तुल्याइनेछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट सोधनी भएका विषयमा आयोगले तत्काल तत्काल सम्बोधन गर्नेछ ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको भइरहेको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना शुरू गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मौसमले साथ दिएमा सोमबार अपरान्ह ४ बजे भित्र सदरमुकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी गर्ने योजना आयोगको छ ।
मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एक जना सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य केही स्थानमा घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *