प्रथम पञ्चवर्षिय योजना चालु आर्थिक वर्षमा सकिदै छ । गण्डकी प्रदेश नीति तथा योजना आयोग यतिबेला दोस्रो पञ्चचवर्षिय योजनाको तयारीमा जुटेको छ । यसका लागि विभिन्न क्षेत्रका विज्ञसंग सुुझाव संकलन गरेको छ ।
मनाङ र मुस्ताङ पुुगेर सुुझाव संकलन गरेको आयोगले पोखरामा प्रदेशका सांसदसँग पनि सुुझाव लिएको छ । सुुझाव संकलनको क्रममा अधिकाशं सांसदले सरकार निकम्मा भएको प्रतिक्रिया दिए । ठोस योजना भन्दा पनि नारामा नै सिमित रहेको तर्क उनीहरुको छ ।
आयोगले दोस्रो पञ्चवर्षिय योजनाका लागि अवधारणापत्र सार्वजानिक गरिसकेको छ । तर, अवधारणापत्र पनि सांसदले समयमै पाउन नसकेको गुनासो गरे । ‘समृद्ध प्रदेश सुखी प्रदेशबासी’को नारालाई परिमार्जन गरेर सरकारले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने नयाँ नारा प्रस्ताव गरेको छ । उक्त नारालाई अझै पनि लम्ब्याउन सकिने बताउदै सांसदले नारा भन्दा पनि सोच परिवर्तन गर्न आवश्यक रहेको बताए ।
एमाले सांसद सुधिरकुमार पौडेलले विगतका कार्यक्रमलाई पनि निरन्तरता दिन सुुझाए । प्रदेशको वेरोजगारी र पलायन भएको युवा शक्तिलाई रोक्ने कुनै पनि कार्यक्रम तय गर्न नसकेको भन्दै सरकारका निकम्मा भएको सज्ञा सांसदले दिएका छन् ।
सरकारले उत्पादकत्व बृद्धि, सामाजिक न्याय र समुुन्नति हाँसिल गर्ने लक्ष्य अगाडि सारेको छ । उत्पादन र उत्पादकत्व वृद्धि तथा कृषि क्षेत्रमा रुपान्तरण, विकास पूर्वाधारको सुदृढीकरण, पर्यटन प्रबद्र्धन, औद्योगिक विकास र रोजगारी सिर्जनासहित ५ उद्देश्य आत्मसात गर्दै प्रदेश सरकारले दोस्रो आवधिक योजनाको आधारपत्र बनाएको छ । यही आधारपत्रमा केन्द्रित रही आयोगले सांसदसँग सुुझाव मागेको थियो ।
छलफलमा सहभागी सांसदले प्रमथ पञ्चवर्षिय योजनामा केन्द्रित रहेर छलफल गर्नुपर्ने बताए । प्रथम पञ्चवर्षिय योजनाबाट आएका सकरात्मक पक्षलाई लिएर दोस्रो पञ्चवर्षिया योजनामा जोड दिनुपर्ने उनीहरुको सुुझाव छ ।
सांसद श्यामराजा महतले संस्थापक मुख्यमन्त्री र पूर्व सांसदबाट पनि सुुझाव लिनुपर्ने धारणा राखे । अघिल्लो सरकारले ‘एक घर एक धारा’, ‘एक निर्वाचन क्षेत्र एक सडक’, ‘स्थानीय तह जोड्ने सडक’, ‘उज्यालो प्रदेश घोषणा’ कार्यक्रम जस्ता कयौँ राम्रा कार्यक्रम ल्याएको बताउदै यिनलाई पनि निरन्तरता दिनुपर्ने अधिकाशंको सुुझाव थियो । विशेषतः एमाले सांसदले अघिल्लो सरकारले ल्याएका कार्यक्रमबाट वर्तमान सरकारले जस लिन नमिल्ने भएकाले नयाँ कार्यक्रमलाई जोड दिएको आरोप लगाए । ‘नयाँ र जनतामुखी कार्यक्रम ल्याउन भने सकेन्’ सांसदले भने ।
सांसद डा गणेशमान गुरुङ सरकारको प्राथमिक क्षेत्र के हुन् भन्ने पहिचान गरी लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । काँग्रेस सांसद भोजराज अर्यालले पिछडिएको वर्ग, महिला, युवा लक्षित कार्यक्रमलाई जोड दिनुपर्ने बताए । सांसद भेषबहादुर पौडेलले सरकारले प्रदेशका सम्भावना के–के हुन् भन्ने पहिचान गर्न आवश्यक रहेको बताए । कृष्ण पाठकले बसाईसराँईलाई रोक्ने कार्यक्रम ल्याउन जरुरी रहेको बताए । फणिन्द्र देवकोटाले शिक्षामा लगानी बढाउनुपर्ने बताउदै कृषिमा आत्मर्निभर हुन कृषिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले स्थानीय उत्पादनलाई बढी जोड दिनुपर्ने सुुझाव राखे । कल्पना तिवारीले एकल अधिकारको विषयमा बोलिन् ।
आयोग उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले आगामी आर्थिक वर्षको बजेट नयाँ पञ्चवर्षिय योजनाको आधारमा ल्याइने बताए । आयातमा निर्भर र निर्वाहमुखी अर्थतन्त्रलाई रुपान्तरण गर्दै आत्मनिर्भर, उत्पादनउन्मुख प्रदेश अर्थतन्त्रको निर्माणलाई प्रमुख सवाल र चुनौतीका रुपमा प्रदेशले पहिचान गरेको उनको भनाई छ ।
