प्रमुख प्रतिस्पर्धी कांग्रेसका नृपबहादुर वडलाई दोव्वर मतले पराजित गर्दै धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।
आँप चुनाव चिह्नबाट हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका निर्वतमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गरे ।
हमालले प्रारम्भिक चरणदेखि नै दोब्बर मतान्तरमा अग्रता लिइरहेका थिए । हमालले उपमहानगरका सबै वडाबाट अग्रता लिएका थिए । हमाल र वड २०७४ को स्थानीय निर्वाचनका पनि प्रतिस्पर्धी थिए । त्यसबेला वडले हमाललाई २ हजार ७ सयको मतान्तरले हराएका थिए । यसपटक हमालले वडलाई १२ हजार ४८ मतान्तरमा हराएका हुन् । यस्तै, उपमयेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छन् । रानाले १५ हजार ४ सय ७९ मत प्राप्त गर्दै माओवादीकी शान्तिकुमारी अधिकारीलाई पराजित गरेकी हुन् । अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरेकी छन् ।
