नवौ राष्ट्रिय खेल, स्याङ्जाको वालिङ खेलमैदानमा दुवो विच्छ्याइदै

Share this post :

Facebook
Twitter
WhatsApp

यही महिनाको २८ देखी कार्तिक ३ गतेसम्म हुने नवौ राष्ट्रिय खेल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जसअन्तर्गत ३६ वटा विधामा खेल प्रतियोगिता हुनेछन् । पोखरा रंगशालामामा खेल आयोजना गरिने भए पनि खेलमैदान अभावका कारण केही खेलहरु गण्डकीका विभिन्न जिल्लामा संचालन गरिदैछ ।
जसअन्तर्गत ‘राष्ट्रिय महिला फुटबल प्रतियोगिता’ स्याङ्जाको वालिङमा सञ्चालन गरिने भएको हो । राष्ट्रिय महिला फुटबल खेलकुद प्रतियोगिताका लागि वालिङ खेलमैदानको तयारी तीव्ररुपमा अगाडि बढाइएको छ । खेलमैदानमा अहिले सम्याउने र दुवो विच्छ्याउने काम भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहन गुरुङले जानकारी दिए । दुवो छ्यिाउने कामका लागि वालिङ नगर प्रमुखसहित खेलाडी, सशस्त्र प्रहरीको टोली तथा स्थानीय युवा खटिएका छन् । मैदानमा विछ्याउने दुवोलाई मात्रै करिव ४५ लाख लाग्ने वालिङ नगरप्रमुख कृष्ण खाँणले बताए ।
‘वालिङवासी युवाको चाहना र आवश्यकतालाई आत्मसाथ गर्दै जति खर्च लागे पनि यो खेलमैदान निर्माण गर्नुपर्छ’ उनले भने । उनले खेल सम्पन्न गर्न नगरपालिका जस्तै स्थानीयबासीको पनि भूमिका उत्तिकै रहने बताए । वालिङ नपाले जस्तै जिल्लाका अन्य पालिकाबाट पनि खेलमैदान निर्माणको लागि सहयोग रहेको उनले बताए । खेलमैदान तयारीको लागि १ करोडको हाराहारीमा खर्च लाग्ने उनको भनाई छ । खेलमैदानको स्तरोन्नतिसँगै झण्डै ४० वर्षको अन्तरालमा राष्ट्रियस्तरको फुटवल प्रतियोगिता सञ्चालन गर्ने अवसर वालिङमा जुटेको हो । यो अवसरबाट वालिङवासी खेलाडी तथा खेलप्रमी सबैलाई उत्साही बनाएको छ । साथै आगामी ५ वर्षसम्म मिनी रङ्गशालाकोरुपमा विकास गर्ने लक्ष्य लिएर नगरपालिकाले काम गरेको नगरप्रमुख खाँण बताउँछन् ।
राष्ट्रिय महिला फुटबल प्रतियोगिता वालिङमा ल्याउनका लागि वालिङ नगरपालिकाको विशेष भूमिका रहेको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले बताए । ‘प्रदेशसँगै राष्ट्रिय खेलकुद परिषदले पनि स्याङ्जामा खेल संचालन गर्न ठूलो भूमिका खेल्यो’ उनले भने, ‘आफ्नो जिल्लामा राष्ट्रियस्तरको खेल संचालन गर्न पाउँदा निकै खुशी छौ ।’ उनले यसवाट मोफसेलका खेलाडीलाई पनि उत्साह थप्ने बताए । नगरपालिकाले प्राथमिकतामा राखेका सातवटा योजनामध्ये खेलमैदान पहिलो प्राथमिकतामा रहेको खाँणले बताए । ‘अहिले नपुग जग्गा व्यक्ति तथा संघ संस्थासँग भाडामा लिएर काम गरिएको छ । यसलाई स्थायीरुप दिनका लागि सबै सकारात्मक हुनुहुन्छ’ उनले भने । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, खेल निर्देशक कृष्ण तिमिल्सिना लगायतले शुक्रबार वालिङ खेलमैदानको अवालेकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *