गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दैछ । दिउँसो पौनै तीन बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । प्रदेश सरकारले पाँचौंपटक नीति तथा कार्यक्रम ल्याउन लागेको भए पनि एमाले विभाजनपछि सत्तारुढ गठबन्धनको नेतृत्वमा बनेको सरकारले पहिलो पटक सदनमा नीति तथा कार्यक्रम पेस गर्न लागेको हो । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नजिकिदै गरेको प्रदेश र संघको निर्वाचनलाई लक्षित गरिएको सत्तारुढ दलकै सांसदले बताएका छन् ।
यता, प्रदेश सरकारले भने, कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको जनाएको छ । निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि प्राथमिकतामा राखिएको स्रोतले जनाएको छ । प्रतिपक्ष दलका सांसले सरकारका पुरानै कार्यक्रमलाई जोड दिनुपर्ने सुझाव दिएका छन् । बहुवर्षिय योजना जस्ता सरकारका महत्वपूर्ण मानिएका कार्यक्रमलाई निरन्तरता दिन उनीहरुको दबाव छ ।
