गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपालको गणतन्त्र किशोरावस्थामा प्रवेश गरेको बताएका छन् । गणतन्त्र दिवसको छेको पारेर पोखरामा सोमबार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो अवधिसम्म आइपुग्दा गणतन्त्र परिपक्क दिशातर्फ जाने आधारहरु देखिएको दावी गरे ।
‘मताधिकार पाउन १८ वर्ष लाग्छ, नागरिकता पाउन १६ वर्ष । त्यसकारण यो किशोर अवस्थामा छ, शैशव अवस्थामा होइन’ अधिकारीले भने ।
नेपालीले २००७ सालबाट देखेको गणतन्त्रको सपना २०६५ सालमा आएर पुरा भएको भन्दै यसमा सबै नेपालीको स्वामित्व रहेको खुलाए । जनताका अपेक्षा बढी र साधनस्रोत कम हुँदा अपेक्षाकृत प्रगति हुन नसकेको जस्तो देखिए पनि आमूल परिवर्तको दिशामा अगाडि बढेको जिकिर गरे । ‘हजारौं किलोमिटर बाटो पक्की बनेका छन्, सयौं संख्यामा पूल र झोलुङ्गे पूल बनेका छन्, स्वास्थ्य सेवाहरु गुणस्तरिय बन्दै गएका छन्’ उनले भने ।
कोरोनाका कारण अर्थतन्त्र शिथिल भए पनि पुनः जागृत हुन थालेको भन्दै प्रदेश आन्तरिक स्रोत बाटनै आत्मनिर्भर हुनको लागि सर्घषरत रहेको बताए । ‘हामीसँग चुनौती भनेको प्रदेश आफ्नो आन्तरिक स्रोतबाट कसरी आत्भनिर्भर हुने भन्नेमा हो, त्यसमा सर्घषरत छौं’ उनले थपे ।
तीव्र गतिका साथ हिड्न खोजेको भए पनि संरचना तथा मनस्थिति त्यसअनुसार नपाएको मुख्यमन्त्री अधिकारीको गुनासो थियो । उनले सुशासनप्रति आफ्नो बढी चासो रहेको खुलाए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले प्रदेशको प्रशासन हाँक्ने जिम्मालाई कुशलतापूर्वक निर्वाह गर्ने प्रयत्न गरिरहेको बताइन् । ‘काम गर्दै जाँदा सहज–असहज हुन्छ नै । असहजलाई पनि सहजतामा परिणत गर्नसक्नु पर्छ । समस्याको समाधान गर्दै सोही अनुसार अघि बढ्नुपर्छ’ उनले भनिन् ।
आफूहरुले नीति, नियम, ऐन, कानून र योजना अनुसार नै कार्य गर्ने गरेको उनको भनाई थियो । कुनै पनि काम समयमा सम्पन्न हुन न्युनतम प्रक्रिया पुरा गर्नुपर्ने भएकोले प्रक्रियामा केही समस्या भए संसोधन गर्नुपर्ने तर कर्मचारीमाथि मात्र दोष थुपार्न नहुनेमा उनको जोड थियो ।
सेवाग्राहीको काममा सहजता प्रदान गर्नको लागि ऐन कानून संसोधन गरेर सहज रुपमा सेवा लिने वातावरण बनाउनुपर्ने उनको तर्क छ । कामलाई प्रक्रियामुखी नबनाइकन नतिजामुखी बनाउनुपर्ने उनले बताइन् ।
गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश अध्यक्ष नवराज ओझाले गणतन्त्रको अनुभूति जनतालाई गराउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको दावी गरे । स्थानीय तहका कारण गाउँ–गाउँ विकास पुगेको उनको भनाई थियो । कोरोनाको समयमा गाउँपालिकाले गरेको कार्यले त्यसलाई पुष्टि गर्ने उनले बताए ।
‘मेरो गाउँपालिकामा म आउँदा १ सय २ घरमा खानेपानी पुगेको थियो, अहिले ९९ प्रतिशत घरमा खानेपानी पुगेको छ । सबै पालिकाले यसरी नै काम गर्नुभएको छ’ उनले दावी गरे । पालिकाले कृषि एम्बुलेन्स, एम्बुलेन्स, अस्पताल सञ्चालन गरेका मात्र नभएर पर्यटन तथा पूर्वाधारको क्षेत्रमासमेत उतिकै काम गरेको उनले बताएका छन् ।
‘‘राज्यले जतिबेला जुन उद्धेश्यका साथ सकेसम्म सबै सेवा संरचनाहरु जनताको पहुँचमा पुयाउने भनेर गणतन्त्र स्थापना गर्यो । त्यसको महशुस स्थानीय सरकारले गराइरहेको छ, एउटा न एउटा सेवा स्थानीय निकायबाट नपाएका घर छैनन्’ उनले थपे ।
यति हुँदा हुँदै पनि स्थानीय सरकारले गर्ने काममा सुधार गर्नुपर्ने अवस्थामा रहेको उनको भनाई छ । सकारात्मक रुपमा हेर्दा गणतन्त्रको बलियो खम्बा स्थानीय सरकार भएको उनी बताउँछन् । स्थानीय निकायले खानेपानी, कृषि, स्वास्थ्य सचेतना, समावेशीता लगायतका क्षेत्रमा उदारणीय कार्य गरेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले गणतन्त्र स्थापनासँगै जनाताले विभेदको अन्त्य भई सबैले समान अवसर प्राप्त गर्छौ भन्ने अपेक्षा गरेको र त्यो आंशिक रुपमा पुरा भएको बताए । ‘यो विगत १६ वर्षको उपलब्धिलाई विभिन्न कोणबाट हेर्न जरुरी छ’ उनले भने, ‘नेपालको राजनीतिक प्रणालीलाई बहुलवाद प्रतिष्पर्धा गर्न सक्ने क्षमता विकास गर्यो । स्वच्छ प्रतिष्पर्धा गर्न आफूलाई उभ्यायो ।’
सरकार जवाफदेही भएर जिम्मेवारीपूर्वक काम गर्दै कानूनी राज्यको स्थापनाको लागि अग्रसर हुनुपर्नेमा उनको जोड थियो । गणतन्त्रले महिला शसक्तिकरण, सामाजिक चेतना, शैक्षिक स्वास्थ्य क्षेत्रमा जागरण अभियान ल्याउन सफल भएको सहभागीहरुको भनाई छ ।
शिक्षा र अर्थतन्त्रको क्षेत्रमासमेत प्रगति भएको भन्दै उपलब्धिलाई दिगो बनाउन जरुरी रहेकोमा वक्ताहरुले जोड दिए । जनस्वास्थ्य, मातृस्वास्थ्य, बाल स्वास्थ्यमासमेत देश अग्रस्थानमा छ ।
शान्तिको लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष विना सिलवालले विभेदरहित समाज निर्माण गर्नको लागि गणतन्त्र ल्याएको भन्दै यसका उपलब्धि धेरै रहेको बताइन् । गणतन्त्रका कारण रोलमोडलको रुपमा महिलाहरु अगाडि आउन सफल भएको उनको भनाई छ ।
‘गणतन्त्रको डेढ दशक ः उपलब्धि र चुनौती’ शिर्षकमा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार समेत रहेका सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले गरेका थिए । अन्तरक्रियाको आयोजना सामाजिक विकास तथा स्वास्थय मन्त्रालय गण्डकी प्रदेशले गरेको हो । गणतन्त्र दिवसको अवसरका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराले मंगलबार विशेष कार्यक्रमसमेत आयोजना गर्दैछ ।