नेपालको पानी भुटान, भारत, हङकङ, अस्ट्रेलिया, चीन, यूएई, जापान, जर्मनी, फ्रान्सलगायत मुलुकमा निर्यात हुँदै आएको छ । दुई वर्षमा ८५ करोडको पानी निर्यात भएको हो ।
नेपालले एक दशकदेखि पानी निर्यात गर्दै आएको छ । पानीलाई प्रशोधित र अर्थप्रशोधित गर्न थालिएपछि माग बढ्दै गएको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको बजेटमा ‘हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गरिने’ व्यवस्था गरिएको छ ।
नेपालबाट रसुवा पानी, हिमालयन अन टप, किन्ली, अक्वा फिनालगायत पानी बाहिर गइरहेको विभागको तथ्यांक छ । भारत, बंगलादेश, चीन, कोरिया लगायतका मुलुकबाट पानीको माग छ । पर्याप्त मात्रामा उत्पादन नहुँदा पानी निर्यात हुन नसकिएको बताइएको छ ।
गल्फ कन्ट्रीबाट पनि माग आउने पानी व्यावसायी बताउँछन् । सरकारले पानीको उत्पादनका लागि गणेश हिमाल, लाङटाङ लगायत क्षेत्रमा अध्ययन गरिरहेको छ । नेपाल विश्वमै दोस्रो ठूलो जलस्रोतको धनी देश हो । तर, तुलनात्मकरुपमा नेपालले पानीबाट आम्दानी भने गर्न सकेको छैन् । विभागको तथ्यांक अनुसार ०७८–७९ मा ३० करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको थियो ।
यसअघि ८ वर्षमा ६ करोड ५० लाख १९ हजारको पानी निर्यात भएको तथ्यांक छ । गत आर्थिक वर्ष ०७९/८० मा ५४ करोड ३९ लाख ५२ हजार बराबरको पानी निर्यात भएको छ । ०७०–७१ मा ३४ हजार रुपैयाँ बराबरको ५ सय २८ लिटर पानी निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।