नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि प्रदेशमा पनि मुख्यमन्त्रीले काँग्रेसबाट विश्वासको मत पाउनेमा आशावादी थिए । तर, माओवादीले नेतृत्व गरेका प्रदेशमा काँग्रेसले विश्वासको मत दिएको छ भने एमालेले नेतृत्व गरेको प्रदेशमा दिएको छैन् । एमालेका उम्मेदवार रहेका सभामुख–उपसभामुख निर्वाचनमा कांग्रेसले प्रतिस्पर्धा गरेको छ । मधेस प्रदेशमा जसपाका र वाग्मतीमा माओवादीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिएको छ ।
कांग्रेसले प्रदेश १ र लुम्बिनीमा सभामुख–उपसभामुख निर्वाचनमा माओवादी उम्मेदवारलाई सघाएको छ । माओवादीबाट वाग्मती प्रदेशमा मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलले मंगलबार कांग्रेसको समेत विश्वासको मत पाए । कांग्रेसले वाग्मतीमा सभामुख र उपसभामुखका गैरमाओवादी उम्मेदवारविरुद्ध भने प्रतिस्पर्धा गरेको थियो । सरकारलाई विश्वासको मत दिए पनि संसद्मा प्रतिपक्षीकै भूमिकामा रहने काँग्रेसको भनाइ छ ।
यता, मधेस प्रदेशमा कांग्रेसले जसपाका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका जसपाका सरोजकुमार यादवले मंगलबार प्रदेशसभामा उपस्थित सबैको विश्वासको मत पाएका हुन् । मधेसमा कांग्रेसले सभामुख र उपसभामुखमा प्रतिस्पर्धा गरेको थियो ।
एमालेले नेतृत्व गरेका प्रदेश १, लुम्बिनी र गण्डकी सरकारलाई कांग्रेसले विश्वासको मत दिएन । माओवादी नेतृत्वको कर्णाली सरकारले शुक्रबार विश्वासको मत लिँदै छ । कर्णालीमा कांग्रेसले सरकारलाई विश्वासको मत नदिने संकेत गरेको छ । एमाले नेतृत्वको सुदूरपश्चिम सरकारले विश्वासको मत लिने मिति तय भएको छैन । त्यहाँ पनि कांग्रेसले विश्वासको मत नदिने भएको छ । कांग्रेसले प्रदेश १ र लुम्बिनीमा माओवादी केन्द्रका सभामुखलाई निर्विरोध हुन सघाएको छ । लुम्बिनी प्रदेशको सभामुखमा पनि कांग्रेसले उम्मेदवारी नदिँदा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भए ।
सभामुख निर्वाचनमा कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने माओवादी केन्द्रसँग प्रतिस्पर्धा गरेको थियो । गण्डकीको सभामुखमा सत्ता गठबन्धनबाट माओवादीका कृष्ण धिताल निर्वाचित भएका छन् । कांग्रेसले सरस्वती अर्याल तिवारीलाई उम्मेदवार बनाएको थियो । त्यसैगरी सुदूरपश्चिमको सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीविरुद्ध कांग्रेसले मानबहादुर रावललाई उठाएको थियो ।
एकीकृत समाजवादीले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख तथा कर्णालीको उपसभामुखमा माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गरेको छ । एकीकृत समाजवादीले मधेस र कर्णालीको सभामुख तथा प्रदेश १ को उपसभामुखमा कांग्रेसका उम्मेदवारलाई मत दिएको थियो । वाग्मतीको सभामुखमा भने तटस्थ बस्यो । एकीकृत समाजवादीले कांग्रेसको समर्थनमा मधेस र सुदूरपश्चिमको उपसभामुखमा उम्मेदवारी दिएको थियो । अन्य प्रदेशमा एमालेविरुद्ध उभिएको एकीकृत समाजवादीले लुम्बिनीमा भने एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएको छ ।
