एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका छन् ।
‘यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ’ उनले भनेका छन्, ‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरु गरी कार्यान्वयन गर्दै आइरहेको बताएका छन् । ‘सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमासमेत स्थापित हुँदैछ’ प्रधानमन्त्रीले भनेका छन्, ‘मेरो विश्वास छ– विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ । उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ ।’
