राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घका रुपमा रहेको नेपाल ट्रायथोलन सङ्घले प्रादेशिक तहमा सङ्घलाई विस्तार गरेको छ ।
ट्रायथोलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास, विस्तार र देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य सहित पहिलो पटक नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेश समिति गठन गरिएको हो ।
जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्वअध्यक्ष समुन देवकोटाको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा डिल्लीराज सुवेदी, सचिव विरेन शेरचन, सहसचिव अनिता रानाभाट र कोषाध्यक्षमा डिमबहादुर (देवेन्द्र) केसी चयन भएका छन् ।
यसैगरी समितिको सदस्यमा कृष्ण दवाडी, प्रमिश ताम्राकार, धनन्जय वाग्ले, सविना महर्जन र उज्वल शर्मा रहेका छन् ।
नवगठित समितिका अध्यक्ष देवकोटाले गण्डकीमा ट्रायथोलन खेलको विकास, विस्तार र नयाँ खेलाडी उत्पादनसहित प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता जनाए ।
‘पोखरामा हरेक वर्ष ट्रायथोलनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गर्दछ तर, प्राविधिक जनशक्ति, साधनन स्रोत सबै केन्द्रबाट ल्याउनुपर्ने अवस्था छ’ उनले भने, ‘अब पोखरामै हरेक कुराले सम्पन्न हुने गरी काम गर्नेछौँ । खेलको विस्तारमा लाग्नेछौँ ।’
नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले देशको सङ्घीय संरचना र पछिल्लो पटक जारी गरिएको खेलकुद विकास ऐन अनुसार गठन गरिएको पहिलो प्रादेशिक समितिले आफ्नो काम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।
सुन्दर ताल तलैया र खेलका लागि आवश्यक पूर्वाधारका कारण पोखरा ट्रायथोलन खेलको हब बन्न सक्ने प्रचुर सम्भावना रहेको उनले औँल्याएका छन् ।
श्रेष्ठले भने, ‘ट्रायथोलन विदेशमा समुन्द्रमा खेलिने गरिन्छ तर नेपालमा समुन्द्र नभए पनि फेवाताल, बेगनास जस्ता ताल भएकै कारण यहाँ प्रकृतिले समेत साथ दिएको छ । पोखरा ट्रायथोलनको अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्ने धेरै सम्भावना देखिसकेका छन् ।’
सङ्घले पोखरामा वर्षेनी एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । आगामी दिनमा यसको व्यवस्थापनका लागि गण्डकी सङ्घ सक्षम हुने विश्वास व्यक्त गर्दै श्रेष्ठले केन्द्रबाट आवश्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने विश्वास व्यक्त गरे ।
नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइरालाले ओलम्पिक खेलका रुपमा रहेको ट्रायथोलनको खेल विकासका लागि नियमित प्रतियोगिताको आवश्यकता औल्याए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । जिल्ला खेलकुदमा सुमन देवकोटाले नेतृत्व लिँदा खेल क्षेत्रले कोल्टे फेरेको स्मरण गर्दै गण्डकी प्रदेशमा ट्रायथोलन खेल विस्तारमा नवगठित समिति सक्षम हुने उनकाे भनाई थियाे ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरा ट्रायथोलनका लागि देशकै हब बन्न सक्ने बताए ।
नवनिर्वाचित सङ्घलाई जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपाली, गण्डकी प्रदेश भलिबल संघका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल ट्रायथोलन सङ्घले पोखरामा वर्षेनी एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । यही चैत १८ र १९ गते यी दुबै प्रतियोगिताको तेस्रो संस्करण यहाँ सम्पन्न भए ।
सन् २०१९ मा सुरु भएको ट्रायथोलन एसिया कप सन् २०२० र २०२१ मा विश्वभर फैलिएको कोभिड महामारीका कारण हुन सकेन । सन् २०२२ देखी हुन यसलाई निरन्तरता दिइएको छ ।
प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । प्रतियोगितामा वर्षेनी विदेशी खेलाडीको सहभागिता बढ्दै जाँदा यसले खेल पर्यटनमा सहयोग गरेको खेलकुदकर्मीको भनाई छ ।
