नेल्टा गण्डकीद्वारा अङ्ग्रेजी भाषा शिक्षकको लागि दुई दिने अनुसन्धान सम्बन्धी आवासिय कार्यशाला सञ्चालन

Share this post :

Facebook
Twitter
WhatsApp

नेपालका अङ्ग्रेजी भाषा शिक्षकको पेशागत संगठन नेल्टाको गण्डकी प्रदेशल शाखाले पोखराको ताल बाराही माध्यमिक विद्यालयमा मंसिर २९ र ३० गते दुई दिने प्राज्ञिक अनुसन्धानमा आधारित आवासिय कार्याशाला सम्पन्न गरेको छ ।
गण्डकी प्रदेशभित्रका प्रत्येक जिल्लाबाट ३ जनाको दरले जम्मा ३० जनाको सहभागीता रहेको उक्त कार्यशालामा शैक्षिक अनुसन्धानमा रुचि राख्ने, अनुसन्धान विधिको आधारभूत ज्ञान भएका, अंग्रेजी भाषामा दख्खलता भएका, अनुसन्धानमा सक्रिय सहभागीताको प्रतिबद्धता जनाएका, सहयोग र विचारको आदानप्रदान गर्न इच्छुक अङ्ग्रेजी शिक्षकमध्येबाट नेल्टाको जिल्ला शाखाले सिफारिस गरेका शिक्षकलाई कार्यशालामा सहभागी गराइएको थियो ।
नेपालकै अङ्ग्रेजी भाषा शिक्षणको क्षेत्रमा उत्कृष्ट मानिएको नेल्टा गण्डकीले प्रकाशित गर्दै आएको स्टार रेटेड जर्नल (Journal of NELTA Gandaki-JoNG) को प्रत्येक अङ्कमा गण्डकी प्रदेशभित्रकै अङ्ग्रेजी शिक्षकद्वारा अनुसन्धान गरेर तयार पारिएका लेखलाई समावेश गराउने उद्देश्यले यो कार्यशाला सञ्चालन गरिएको जानकारी नेल्टा गण्डकीका सभापति कमलराज लम्सालले दिए । सभापति लम्सालले कार्यक्रमको छोटो औचित्य बताएपछि सह-प्राध्यापक डा. नवराज न्यौपाने र उप-प्राध्यापक डा. पिताम्बर पौडेलले उक्त कार्यशालाको संयुक्त सहजीकरण गरेका थिए ।
कार्यशालामा सहभागी अङ्ग्रेजी शिक्षकमा अनुसन्धान सिपको ज्ञान दिलाउने, समालोचनात्मक सोचको विकास गराउने, अनुसन्धानात्मक लेखनमा सुधार ल्याउने, अनुसन्धानमा सहकार्यलाई प्रोत्साहन दिलाउने, पेशागत सिप विकासलाई टेवा पुर्‍याउने जस्ता उद्देश्य राखेर कार्यशाला सञ्चालन गरिएको हो ।
शैक्षिक अनुसन्धानका आधारभूत तत्वहरु अनुसन्धानको विषयवस्तुहरुको खोजी र चयन, लेखाई वातावरण र अनुसन्धान प्रश्नहरु, उपलब्ध साहित्यको समालोचनात्मक पुनरावलोकन गर्ने तरिका, अनुसन्धानका डिजाइन र विधिहरू लेखन, नतिजा/निष्कर्ष र छलफल लेखन र निष्कर्ष र सार लेखन कार्यशालाका प्रमुख विषयवस्तुहरु थिए ।
कार्यशालाको समापन सत्रमा सहभागीहरुको तर्फबाट बोल्दै नेल्टा स्याङ्जाको अध्यक्ष ओम विकास सिंजाली र नेल्टा नवलपुर जिल्ला कार्यसमिति सदस्य रीता खड्काले उक्त कार्यशालाको प्रशंसा गर्दै कार्यशालाका व्यवहारिक विषयवस्तुहरुले सहभागीहरुको लेखन सीप विकास भएको, अनुसन्धानप्रति सहभागीको रुचि र प्रतिबद्धता बढाएको, र सहभागीविच सामुहिक कार्यको लागि सम्पर्क विस्तार गराएको कुरा बताए । साथै, उनीहरूले कार्यशालामा सिकेका सिपलाई आगामी दिनमा आफ्नो प्राज्ञिक लेखनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको समापन सत्रमै सहजकर्ताद्वयले सहभागीले अनुसन्धानको नयाँ सीप र सोच अपनाएको अनुभव गरेको र शिक्षकहरुलाई थप अनुसन्धान गर्न र लेखन कार्यमा योगदान दिन प्रेरित गरेको नेल्टाका सदस्य प्रकाश रिजालले बताए ।
कार्यक्रमको समापन गर्दै नेल्टा गण्डकीका सभापति कमलराज लम्सालले डा. न्यौपाने र डा. पौडेलको विशेषज्ञ सहजीकरण, सहभागीको सक्रिय सहभागीता, गण्डकी प्रदेशभित्रका नेल्टा शाखाको सहयोग र सद्भावले यो कार्यशाला ज्ञानवर्धक, प्रभावकारी र उद्देश्यमुलक रहेको भन्दै सवै सहभागीलाई प्रत्येक बर्ष कम्तिमा एउटा अनुसन्धानात्मक लेख नेल्टा गण्डकीद्वारा प्रकाशन हुने जर्नलमा पेश गर्न उत्प्रेरित गर्दै उक्त लेखहरू नेल्टा गण्डकीको जर्नल वा अन्य कुनै माध्यमबाट प्रकाशन गराउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *