गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले जनयुद्धका शहिद र वेपत्ता परिवार एकै ठाउँमा उभिनुपर्ने बताएकी छन् । उनले न्यायको लागि पीडित छुट्टाछुट्टै भन्दा पनि एकै ठाउँमा उभिनुपर्ने बताएकी हुन् । मंगलबार बलपूर्वक वेपत्ता पारिने कार्यविरुद्धको १३ औँ अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा आयोजिक एक कार्यक्रममा बोल्दै उनले संघिय र प्रदेश सरकार शहिद र वेपत्ताका परिवारसंगै रहेको बताइन् ।
‘हामीले पीडितको पक्षमा सधै आवाज उठाएका छौ’ उनले भनिन, ‘शहिद र वेपत्ताको पक्षमा बोल्ने माओवादी नै हो । सरकारमा हुँदा होस या बाहिर । पीडित परिवारलाई कसरी राहात दिन सकिन्छ भनेर लागि परेका छौ । कही केहीमा चुक्यौ होला तर, प्रयास भने नगरेका होइनौ ।’ उनले पीडितलाई दिइने कुनै पनि सरकारी सहयोगमा पक्षपात नभएको बताइन ।
माओवादी केन्द्र पार्टी सुशासनको पक्षमा रहेको बताउँदै उनले आफ्नो जिम्मेवारीमा रहेको मन्त्रालयमा शहीद र वेपत्ताका परिवारलाई कार्यक्रममार्फत सम्बोधन गरिएको बताइन् । ‘पीडितका आफ्न्तलाई स्वास्थ्य बीमा पनि निःशुल्क गराएका छौ’ उनले भनिन, ‘बीमा कार्यक्रममा कसैलाई काखा र कसैलाई पाखा गरिएको छैन् । सवैको लागि बराबर वितरण गरेका छौ ।’ मन्त्री सिम्खडाले संघिय गणतान्त्रिक लोकतन्त्र व्यवस्था ल्याउन शहिर र वेपत्ताको मुख्य भूमिका रहेको बताउँदै उनले जनयुद्धमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा ९५ प्रतिशत जनताले सहयोग गरेको स्मरण गरिन् ।
राजतन्त्र चाहानुपर्छ भन्ने ५ प्रतिशत मात्र जनयुद्धको विरोधमा रहेको बताउदै उनले संघियता ल्याउन ज्यान आहूति दिने व्यक्तिका परिवार जहिले पनि उच्च रहने बताइन् । ‘अव व्यवस्था बलियो बनाउन सबै जना एकै ठाउँमा हुनुपर्छ’ उनले थपिन् । धर्म निरपेक्षता, उत्पीडित वर्ग, पिछडिएको वर्ग, महिला, दलित, आदीवासी, जनजाति र स्वतन्त्रताको पक्षमा जनयुद्ध रहेको बताउँदै उनले व्यवस्था परिवर्तन पनि जनताको आवश्यकताअनुसार भएको बताइन् ।