एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले नेपाल पत्रकार महासँघ कास्की शाखामा आगो लगाउने धम्की दिएका छन् । शनिवार राती ११ बजेर ८ मिनेट जादाँ महासंघका अध्यक्ष विमला भण्डारीलाई फोन गर्दै उनले महासंघको कार्यालयमा आगो लगाएर ध्वस्त पार्ने धम्की दिएको महासंघका अध्यक्ष भण्डारीले बताइन् ।
पत्रकार महासंघको लेटरप्याडमा सहसचिव श्रीराम सिग्देलको हस्ताक्षरमा उक्त घटनाप्रति घोर आपति जनाउदै आइतबार विज्ञप्ती निकालिएको छ । सिंगो महासंघको स्वाभिमानमा आँच आउने गरी अर्जुन गिरीले दिएको धम्कीले समग्र पत्रकारको भावनामाथि आघात पुगेको विज्ञप्तीमा उल्लेख छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशन शनिवार सम्पन्न भएको थियो । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा पोखरा आउने कार्यक्रम भएकाले सोही मौका पारि खेलकुद पत्रकार मञ्चले पदस्थापन कार्यक्रम आयोजना गरेको थियो ।
महासंघको हलमा पदस्थापन गर्न दिएमा आगो लगाउने उनले धम्की दिएको विज्ञप्तीमा छ । प्रेस चौतारीको धम्कीपछि पदस्थापन कार्यक्रम स्थगित गरिएको हो । महासंघका स्रोतका अनुसार राजनीति विचारकै कारण महासंघमा आगो लगाउछु भनेर धम्की दिएपछि कानुनी प्रकृयामा अगाडी बढिनेछ । गिरी एमालेका जिल्ला सदस्य र पोखरा महानगर २१ नम्बर वडाका पार्टी इन्जार्च हुन् ।
