परम्परागत पेशा संरक्षणमा जुट्दै गल्याङ नगरपालिका

Share this post :

Facebook
Twitter
WhatsApp

परम्परागत पेसा लोप हुन थालेपछि स्याङ्जाको गल्याङ नगरपालिका लोपोन्मुख पेसा संरक्षण अभियानमा जुटेको छ । आधुनिक औजारको अभाव, नयाँ पुस्तामा सीप हस्तान्त्रण नहुनु, परम्परागत पेशालाई हेलाको दृष्टिकोणले हेरिनु जस्ता समस्याको सामना गरिरहेका दलित समुदायले गर्ने पेशा संरक्षणको अभियानमा नगरपालिका जुटेको हो ।

गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले दलित समुदायले गर्ने सीप लोपोन्मुख अवस्थामा पुग्नु् सबैको चिन्ता र चासोको विषय बनेको बताए । उनले दलित समुदायले गरेका परम्परागत आरन, सिलाइकटाई, मादल बनाउने, जुत्ता सिलाउने लगाएतका पेशालाई टिकाउन र नयाँ पुस्तामा हस्तान्त्रण गर्नका लागि विषेश योजनासहित नगरपालिका अगाडि बढेको बताए ।

गल्याङ नगरपालिका सामाजिक विकास अधिकृत ढालबहादुर केसीले परम्परागत पेसाको संरक्षणमा सहयोग पुगोस भन्ने उद्देश्यले पहिलो चरणमा १८ जना नागरिकलाई आरन व्यवस्थापन सम्बन्धि सामग्री वितरण गरिएको बताए । उनका अनुसार दलित उत्थान तथा सशक्तिकरणका लागि आरनका लागि पंखा १४ थान, इलेक्ट्रोनिक पंखा एक थान, घन ५३ थान, गैन्डर मेसिन ६ थान, सनासो २० थान, वेल्डिङ मेसिन तीन थान, रेती २२ थान, लिइ १३ थान पुर्ण अनुदानमा वितरण गरिएको हो । यसअघि नगरपालिकामा मादल बनाउने पेसा गरेका एक मात्र व्यक्तिलाई उपकरण खरिदका लागि १२ हजार सहयोग गरिसकिएको केसीले जानकारी दिए ।

गल्याङ नगरपालिका–११ का वडा सदस्य शसीकुमार विकले दलित समुदायले गर्ने परम्परागत पेसालाई हेलाको दृष्टिकोणले हेर्दा युवा आकर्षित हुन नसकेको बताए । समयानुकुल आधुनिक प्रविधिको प्रयोग नबढ्दा पनि परम्परागत पेशामा श्रम र समय अत्यन्त धेरै खर्च हुने गरेको उनको भनाई छ ।

गल्याङ नगरपालिका–४ कराङ्दीका लक्ष्मण सुनारले छोरानातीले आरन व्याववसायमा चासो नदिएका बेला नगरपालिकाले आरन संरक्षणका लागि पहल गरिदिदा खुसि व्यक्त गरे । ‘हामी बुढाले जसोतसो आरन पेसालाई थमाउने काम गरेका छौँ, बढि श्रम र पसिना खर्च हुने हुँदा छोरानातीले काम सिक्ने चासो दिएका छैनन्’, उनले भने, ‘आधुनिक मेसिन पाएका छौँ अब श्रम र समयको बचत हुने भयो, काम गर्न सजिलो हुने भएपछि नयाँ पुस्ताले काम गर्न चासो देखाउँछन् जस्तो छ ।’

यस्तै गल्याङ नगरपालिका–९ साङ्लीयाका अमरसिंह विकले घरले छाएको आरनमा काम गर्दा बर्षातमा पानीले रुझाएर काम गर्न नसकिने गरेको गुनासो गरे । ‘धेरै बर्षदेखि आरन टिनले छाउने सपना थियो, आर्थिक अवस्था कमजोर हुँदा छाउन सकेको थिइन’ उनले भने, ‘नगरपालिकाले आरन छाउन टिन दिएको छ । अब त बर्खाको झरीमासमेत काम गर्न पाइने भइयो ।’

गल्याङकी उपमेयर हेमा न्यौपाने तिमल्सीनाले पहिलो चरणमा परम्परागत पेशा संचालनका लागि आवश्यक सामग्री वितरण गरिए पनि दोस्रो चरणमा सीपमुलक तालिम र विभिन्न प्रशिक्षणात्मक कार्यक्रम संचालनका लागि नगरपालिकाले पहल गर्ने बताइन् । उनले नगरपालिकाभित्र रहेर परम्परागत पेसा गर्ने हरेक दलित समुदायलाई नगरमा सूचिकृत हुन आग्रह गर्दै समस्या भए तत्काल सम्पर्क गर्न सुझाव दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *