पोखरा महानगरपालिका- ५ मा रहेको समता शिक्षा निकेतनले परीक्षाका बेला विद्यार्थीलाई दिनभर सांस्कृतिक कार्यक्रममा सहभागी गराएको छ । क्रियटिभ ब्रोडकास्टिङ प्लस नामको व्यक्तिगत फर्मले आयोजना गरेको कार्यक्रममा बुधबार बिहान परीक्षा दिएका विद्यार्थी दिनभर पोखरा सभागृहमा सहभागी भएका थिए ।
फर्मले समताका संस्थापक उत्तम सञ्जेल सम्मानित गरेकाे थियाे । समता पोखराका प्रिन्सिपल उमेश रेग्मीले संस्थापक सम्मानित हुन लागेकाले विद्यार्थीलाई ल्याइएको भन्दै प्रतिक्रिया दिए । यता, कार्यक्रममा सहभागी विद्यार्थीले भने बुधबार बिहान परीक्षा दिएर आएको र भोलि (विहीवार) पनि परीक्षा रहेको बताएका छन् । प्रिन्सिपल रेग्मीले भोलि परीक्षा भए पनि यसले केही फरक नपार्ने उल्लेख गरे । विद्यालय पोशाकमै उपस्थिति विद्यार्थीले कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसमेत देखाएका थिए ।
समताले कक्षा ५ देखि मािथका सबै कक्षाका विद्यार्थीलाई पोशाकमै कार्यक्रमा ल्याएको थियो । यता, कार्यक्रमको आयोजक संस्था क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसका सञ्चालक आइडी मिलन प्रतीकले यसबारे सोधिएको प्रश्नमा पत्रकारलाई दुव्र्यवहार गरेका छन् । उनले भने, ‘म पूर्वराष्ट्रपतिलाई ल्याउने हैसियतको मान्छे हुँ । पोखराका मेयर, पूर्वमुख्यमन्त्री लगायत कार्यक्रममा आउनुभएको छ । यस्तो कुरा गर्ने, सकेको गरे हुन्छ ?’
क्रियटिभले बेला बेलामा विशेष सम्मान कार्यक्रम आयोजना गर्ने गरेको छ । बुधबारको कार्यक्रममा समताका विद्यार्थीबाहेक अरु दर्शक करिव एक सय जना पनि थिएनन् । विभिन्न विधाका सात जनालाई पूर्व राष्ट्रपति रामवरण यादवबाट सम्मान गरिएकाे थियाे । सम्मानितमध्ये प्रेमराजा महतले गीत सुनाएका थिए भने समताका केही विद्यार्थीले सांस्कृतिक प्रस्तुति राखेका थिए । यसअघिका शंखलामा पनि सम्मानका लागि बोलाएका कलाकारलाई गीत गाउन आग्रह गरेपछि उनीहरुले स्टेजबाट अस्वीकार गरेका घटना छन् । आइडी मिलन प्रतीक विभिन्न काण्डमा बेला बेलामा विवादमा आइरहन्छन् ।
कार्यक्रममा डा यादवले राज्यले सम्मान गर्नुपर्ने व्यक्ति सम्मानित भएकाे बताए । आगामी दिनमा अझै सम्झन याेग्य काम गर्न यस्ता सम्मानले उत्साहित बनाउने बताउदै गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिसमेत रहेका यादवले दैनिकरूपमा व्यामलाई पनि प्राथमिकता दिन सुझाए । आफू पनि क्यान्सर राेगबाट पीडित रहेकाे बताउदै उनले स्वास्थ्यलाई ख्याल गर्दै काम गर्न सुझाव दिए ।