पोखरामा पहिलोपटक मुखको क्यान्सरको शल्यक्रिया गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको शल्यक्रिया गरिएको हो ।
अस्पतालका निर्देशक भरतबहादुर खत्रीका अनुसार २९ माघमा पर्वतका ५४ वर्षीय पुरुषको मुखमा भएको क्यान्सरलाई १० घण्टाको प्रयास पछि शल्यक्रिया गरिएको हो ।
वाइड लोकल एक्जिसन र सुप्रामोहिड नेक डाइसेक्सन उपचार विधिबाट क्यान्सर हटाइएको बताइएको छ ।
तेस्रो स्टेजको क्यान्सरको शल्यक्रियामार्फत् सफल उपचार भएको डाक्टर खत्रीले बताए । प्लाष्टिक सर्जन पियुष गिरीको टिम र म्याग्जीलोफेसियल डाक्टर नारायण शर्मा लामिछानेको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रिया पछि घाउमा बिरामीको बायाँ हातको मासु प्रत्यारोपण गरिएको छ ।
विरामी पुरुषलाई ७ फागुनमा अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । चिकित्सकका अनुसार यस प्रविधिबाट उपचार गराउँदा बढीमा २० हजार रुपैयाँसम्म खर्च लाग्नेछ । तर, अस्पतालमा गरिएको मुखको क्यान्सरको पहिलो शल्यक्रिया भएका कारण ती बिरामीको उपचार निशुल्क गरिएको अस्पतालले जनाएको छ ।
