पानीको मूल्य वृद्धि गरेपछि पोखराका व्यवसायीले आन्दोलन शुरु गरेका छन् । मंगलबार दिनभर पोखरा प्रदर्शनी केन्द्र अगाडि पानी बोक्ने गाडी तेर्स्याएर आन्दोलन गरेका हुन् । कम्पनीले अस्वभाविक मूल्य वृद्धि गरेको भन्दै व्यवसायीले पानी विक्री वितरण ठप्प पारेका हुन् । मूल्य वृद्धि फिर्ता नलिएसम्म पानी विक्री वितरण नगर्ने व्यवसायीको चेतावनी छ ।व्यवसायीले पानी कम्पनीको सिण्डिकेट पनि खारेजीको माग गरेको व्यवसायी कुमार लामिछानेले बताएका छन ।
आन्दोलन शुरु गरेपछि विशेषगरि जार पानीका उपभोक्तालाई समस्या भएको छ । हाल पोखरा बजारमा जार पानीको सरदर मूल्य ५० रुपैयाँ छ । व्यवसायीले कम्पनीबाट प्रतिजार सरदर १८ रुपैयाँमा उठाएर बजारमा ३५ देखि ४० रुपैयाँ मा विक्री वितरण गर्दै आएका थिए ।
सरकारी मूल्य भने कम्पनीमा १६ र उपभोक्तामा ४० रहेको छ । सरकारी दररेटलाई लत्याउँदै कम्पनीले १८ देखि २० लिने गरेको थियो । जसका कारण ४० रुपैयाँमा जार पानी पाउनुपर्ने उपभोक्ताले ५० रुपैयाँ तिर्न बाध्य भएका थिए ।
कम्पनीले अहिले पानीको मूल्य बढाएर ३३ र उपभोक्ता मूल्य ६० रुपैयाँ पुयाइएको छ । यस्तै, बोत्तल पानीको मूल्य पनि वृद्धि गरिएको छ । यसअघि २० रुपैयाँ रहेको उपभोक्ताको मूल्य २५ पुर्याइएको छ । कम्पनीले बोत्तल पानीको मूल्य १२० रुपैयाँबाट बढाएर १५० रुपैयाँ पुयाएको छ ।
