नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल ताेकिएकाे मूल्य भन्दा मनपरी (बढी) मूल्यमा बिक्री गरेकाे पाइएकाे छ ।पाेखरा महानगरपालिकामा कृषकले मलमा अचाक्ली मूल्यमा विक्रि गरेकाे गुनासाे गरेका थिए । महानगरले मल वितरण व्यवस्थापन समितिले तत्काल अनुगमन गर्दा प्रतिकिलाेमा १० देखि १५ रुपैयाँसम्म लिएकाे फेला परेकाे हाे ।
उपमेयर मञ्जुदेवी गुरुङकाे नेतृत्वमा गएकाे अनुगमन टाेलीले पाेखरा-१० मा रहेकाे अमरसिंह कृषि सहकारीमा २१ रुपैयाँकाे युरिया ३५ र ५० रुपैयाँकाे डिएपि ६५ रुपैयाँमा बिक्री गरेकाे फेला पारेकाे हाे । सहकारीले मल बिक्री वितरण गर्ने अनुमति समेत नपाएकाे तर उसले उपभोक्ता सहकारी संघबाट मल ल्याएर अमरसिंह शुलभ कृषि सामग्री पसलबाट बढि मुल्यमा मल बिक्री गरेकाे भेटिएको उपमेयर गुरूङले जानकारी दिईन् ।
मल बिक्रीवितरणका लागि अनुमति नलिएकाे र ताेकिएकाे मुल्यभन्दा बढिमा बिक्री गरेकाे पाइएकाे महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार पसल दर्ता भए पनि मल, विषादी र बिउबिजन बिक्री अनुमति समेत नलिएको पाइएकाे बताउदै साेमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन र बाँकी रहेकाे मल बिक्रीमा राेक लगाईएकाे कडरियाले बताए ।
बिक्रीका लागि राखिएकाे २५ बाेरा युरिया, ६ बाेरा डिएपि र ५ बाेरा पाेटास बिक्रीवितरणमा राेक लगाइएको छ । उक्त पसलले स्थानीय मल व्यवस्थापन समितिले ताेकेकाे क्षेत्र भित्र किसानकाे परिचय खुल्ने गरि बिक्री गर्नुपर्ने भए पनि त्यसकाे समेत पालना नगरिएकाले थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बाेलाइएकाे महानगरले जनायाे ।
त्यस्तै उपभोक्ता सहकारी संघले पनि कृषि सामग्री कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा ल्याएकाे मल अनुमति नपाएका सहकारी र पसललाई बढि मुल्यमा बिक्री गरेकाे अनुगमनमा फेला पारेकाे हाे । संघले कार्यक्षेत्र भन्दा बाहिर मल पठाउने गरेकाे, बिलबिजक जारी नगरेकाे, मुल्यसुचि नराखेकाे, कृषि सामग्रीबाट ५० बाेरा र साल्ट ट्रेडिंग कर्पोरेशन लिमिटेडबाट ३५ बाेरा युरिया ल्याएकाे फेला परेकाे छ ।
कृषि सामग्रीबाट साउन १८ गते ल्याएकाे सबै मल बिक्री गरेकाे अनुगमनमा देखिएकाे छ । अनुगमन टाेलिले थप कार्बाहिका लागि साेमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएकाे छ । किसानले मल बढि मुल्यमा बिक्रीवितरण भैरहेकाे भन्ने गुनासाे गरेपछि तत्काल अनुगमन गरिएकाे गुरुङले बताइन ।
सरकारले किसानका लागि दिएकाे अनुदानकाे मल बढि मुल्यमा बिक्री गर्नु गलत भएकाे बताउदै उनले किसानलाई सहज, सरल र सुपथ मुल्यमा मल उपलब्ध गराउने काममा सहयाेग गर्नुपर्नेमा नाफा कमाउने कार्यमा सहकारी र व्यवसायी लाग्न नहुने भन्दै गलत गर्नेलाई कारबाही गरिने बताएकी छन् ।
पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेकाे बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियाे । युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डीएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकेकाे थियाे ।