पुलिस र न्यू डायमण्डको विजयी सुरुआत

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरामा सुरु भयो ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल

पोखरामा आजदेखी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै विजयी सुरुआत गरेको छ ।

यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लब विजयी भयो । पहिलो खेलमा पुलिसले २५–२१, २७–२५ र २५–१७ ले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लबले एभरेष्ट क्लबलाई २५–११, २५–१८ र २५–१० को सोझो सेटमा हराउन सफल भयो ।

खेलकुद अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धिको प्रतीक : अध्यक्ष प्रचण्ड

प्रतियोगिताको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धिको समेत प्रतीक बनेको बताए ।
अध्यक्ष दाहालले आफ्नो प्रधानमन्त्रीकालमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति तथा योजना कार्यक्रम बनाउने पहल गरेको स्पष्ट पारे । अध्यक्ष दाहालले भने, ‘नेपाली खेल क्षेत्र विकसित हुँदै गएको छ । मैले नीतिगत मात्र होइन खेलकुद क्षेत्रको नेतृत्वमा सफल व्यक्तिहरु ल्याएका कारणले अहिले नेपाली खेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा निकै स्थापित भएको छ ।’
उनले नेपाली खेलाडीले विस्तारै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको वर्षा गर्ने गरेको र अहिले नेपालमा ऐन कानुनले पनि खेलाडीको जीवनलाई सुनिश्चित गर्ने पहल भएको बताए ।
अध्यक्ष दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेलामा भलिबललाई मन्त्रिपरिषद्बाट राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्दै उनले त्यसपछि देशभित्र भलिबल खेलको महत्व अझ बढेको उल्लेख गरे ।

‘नेपालको भुगोल, संस्कृति, हावापानी र नेपालीजनसँग मेल खाने खेल भएकाले मन्त्रिपरिषद्बाट निर्णय गरेको गरिएको हो । त्यसपछि भलिबलको मान्यता राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा बढेको र पदक जित्ने सुरुआत भएको हो’ उनले थपे ।
आयोजक नेपाल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले भलिबल खेललाई अझ लोकप्रिय बनाउने र राष्ट्रियस्तरको प्रतियोगितामार्फत महिला खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले महासंघले वर्षभरीनै वृहत् खेलकुद महोत्सवका रुपमा विभिन्न खेलकुदका प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी दिए ।

यही जेठ ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्धेश्शीय कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिम सहभागी छन् ।
प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश टिम, एभरेष्ट भलिबल क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र स्टेप रामपुर गरी छ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता लिग तथा नकआउट चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको च्याम्पियन टोलीले ६ लाख, उपविजेताले ३ लाख, र तेस्रो हुने टिमले एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *