पूर्वाधार र यातायातमा सुधार हुन्छ– मन्त्री जुग्जाली

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पूर्वाधार आयोजना कार्यान्वयन र यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई नागरिकले महशुस गर्ने गरि सुधार गर्न लागिपरेको बताए ।
प्रदेशसभाको चालु बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञाशाको सोमबारको प्रदेशसभामा जवाफ दिने क्रममा मन्त्री जुग्जालीले संघ सरकारमार्फत सञ्चालित आयोजनामा देखिएका समस्या समाधानका लागि पनि प्रदेश सरकारले पहल र समन्वय गरेको बताएका थिए ।
यातायातको राजस्व घरबाटै बुझाउन मिल्ने गरि अनलाईन प्रणालीमा लैजान लागिएको, पोखराको यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको ट्रायल परिक्षा बिहान साढे ८ बजेदेखि सञ्चालन गरिएको, सवारी चालक अनुमति पत्र कार्यालय पोखरामा सेवाग्राहीलाई खानेपानीको व्यवस्था मिलाइएको उनले बताए ।
‘संघ सरकारसँग समन्वय गरेर प्रदेश सरकार मार्फत नै सवारी साधनको लाइसेन्स छपाई गरि वितरण गर्ने प्रक्रीया अगाडी बढाइएको छ’ उनले भने, ‘यसअघि एक÷एक वर्षमा हुने सवारी साधनको प्रदुषणको मापन अहिले छ÷छ महिनामा गर्न थालिएको छ । डुम्रे, नवलपुर र बाग्लुङको यातायात कार्यालयलाई डिजिटलाईजेशन गर्ने प्रक्रिया अघि बढेको छ ।’ बागलुङको यातायात कार्यालयबाट चार पाङग्रे सवारी साधनको चालक अनुमति पत्रको ट्रायल शुरु गर्न लागिएको मन्त्री जुग्जालीले बबताए । बागलुङमा चार पाङग्रेको ट्रायल हुँदा पोखरामा सेवाग्राहीको चाप घट्ने, महिनौ पालो पर्खनुपर्ने समस्याको अन्त्य र धौलागिरी क्षेत्रका सर्वसाधारणलाई सहज हुने उनको भनाई थियो ।
पर्यटकीय नगरी पोखरामा यातायातको प्रदुषण नियन्त्रणका लागि यातायात व्यवसायी र सम्बद्ध निकायसँग छलफलमा रहेको जानकारी गराउदै ट्याक्सी सञ्चालनमा जवरजस्ती लागू गरिएको सिण्डीकेट तोड्न कदम चालिने मन्त्री जुग्जालीले बताए । यातायात कार्यालयको सेवालाई प्रविधिसँग जोड्ने र प्रदेशमा सञ्चालित पूर्वाधार आयोजनालाई तिब्रताका साथ कार्यान्वयन गरी महशुस हुने गरि उपलब्धीमुलक काम गरिरहेको उनले बताएका छन् । संघ सरकारले गण्डकी प्रदेशमा सञ्चालन गरेका पूर्वाधार आयोजना कार्यान्वयनमा समन्वय र सहजिकरण गरेको बताउदै उनले प्रदेशमार्फत सञ्चालित आयोजनाको अवस्था पहिचान गरिसकेको बताए ।
मन्त्री जुग्जालीले बर्खायाममा प्रदेश सरकारमार्फत सञ्चालित सडकमा यातायात अवरोध हुन नदिने प्रतिवद्धता जनाउँदै संघीय सरकारबाट सञ्चालित मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरीडोर, पोखरा–मुग्लीन सडक आयोजना र सडक डिभिजन तथा स्थानीय तहसँग समेत समन्वय गरेको बताए । मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरको पहिरोका कारण सिर्जना भएको जाम मन्त्रालय, आयोजना, पूर्वाधार विकास कार्यालय कास्की र अन्नपूर्ण गापाको समन्वयमा बैकल्पिक सडक सञ्चालन गरेर हटाइएको मन्त्री जुग्जालीले संसदलाई जानकारी गराए ।
चार, पाँच लाखको बजेटएउटै जिल्लामा ६ सय आयोजना र जनशक्ति कम हुँदा देखिएको समस्या अन्त्यका लागि आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका योजनामा ३० लाखको थ्रेस होल्ड बनाएर नीतिगत सुधारको काम गरेको मन्त्री जुग्जालीको भनाई छ ।
प्रदेश सरकार मार्फत सञ्चालित १७ वटा रुग्न आयोजनाका निर्माण कम्पनीको घरौटी जफत गर्ने, आरबिटेशन लगायत प्रक्रियामार्फत दवाव सिर्जना गरेको जानकारी गराउदै जुग्जालीले काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । सांसद र सरोकारवालाबाट प्राप्त सुझावले मन्त्रालयका आयोजना कार्यान्वयन र मातहतका कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउनका लागि सहयोग पुग्ने मन्त्री जुग्जालीको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *