राष्ट्रिय भूमि आयोग र पोखरा महानगरपालिकाले बुधबार औपचारिक कार्यक्रम शुरु गरेर भुमिहिन दलित र भुमिहिन सुकुम्बासी २ सय जनालाई सेतो पुर्जा वितरण गरेको थियो । पोखरा महानगरपालिकामा १९ हजार ८ सय ५६ जना सुकम्बासीले निवेदन दिएको मेयर धनराज आचार्यले बताए । बुधबारसम्म महानगरमा ७ हजार २ सय १७ वटा निवेदन कम्प्युटरमा इन्ट्री भएको मेयर आचार्यले बताएका छन् । नजिकिदै गरेको निर्वाचनका कारण आचारसंहिता लागू भएपछि वितरण गर्न नपाइने बताउदै मेयर आचार्यले बुधबार औपचारिक कार्यक्रमबाट शुरु गरेपछि प्रत्येक दिन प्रत्येक वडाबाटै सेतो पुर्जा वितरण गरिने बताए ।
‘२०४६ को राजनीति परिवर्तनपछि कोही नागरिक भूमिहिन हुनु पर्दैन भनियो’ उनले भने, ‘राजनीति घटनाक्रम सरकार परिवर्तनसँगै लालपुर्जा दिन पाइएन् । सुकुम्बासी समाधान आयोग गठन भए पनि दिन सकेन् । अहिले राष्ट्रिय भूमि आयोगले फिल्डमै काम गरेर सुकुम्बासी पहिचान गरेको छ । आयोगले पालिकालाई दिएको निर्देशन अनुसार हामीले पनि छुट्टै कार्यालय खोलेर काम गर्यौ ।’ उनले अहिले बसोबास गरेकै ठाउँको लालपुर्जा दिइने बताए । ‘यदी सरकारले जोखिम पहिचान गरेका ठाउँ रहेछन भने अन्यत्रै व्यवस्थापन गर्नेछौ’ उनले भने । महानगरले ४ आना भन्दा कमका कुनै पनि पुर्जा नभएको बताए ।
सुकुम्बासी वस्तीमा विजुली, खानेपानीको पनि छिट्टै व्यवस्थापन गर्ने महानगरले जनाएको छ । निर्वाचनको मुखमा पुर्जा वितरण गर्नु भनेको चुनावी आकर्षण नभएको बताउदै मेयर आचार्यले पुर्जा अधिकारको कुरा भएकाले जहिले पनि लिन सकिने बताए । महानगरका अनुसार ३३ वटै वडाका १९ हजार ८ सय ५६ जनाले नै पुर्जा पाउनेछन् । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले सेतो पुर्जापछि बाँकी प्रक्रिया पुरा गरेर रातो पुर्जा दिने बताए । ‘हामी रातो पुर्जा पनि छिटै दिन्छौ’ उनले भने, ‘रातो पुर्जा पाउने आधार नै सेतो पुर्जा हो । ७ या १५ दिने सूचना प्रकाशन गरेर जमिन प्रमाणीकरण गर्छौ । नापी कार्यालयबाट नाँपजाँच हुन्छ अनि रातो पुर्जा दिन्छौ ।’
उनले सेतो पुर्जा आयोगमा सवै विवरण राखेर प्रमाणीत गरेपछि मात्र दिएकाले सुकुम्बासीलाई सुरक्षितरुपमा राख्न आग्रह गरे । भूमी आयोगका सदस्य एवं नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेले भुमी सम्बन्धी ऐन २०२१ अनुसार गठन भएको राष्ट्रिय भूमि आयोग आदेश २०७८ को लगत संकलन कार्यविधि २०७८ अनुसार सुकुम्बासी पहिचान गरि अस्थायी निस्सा दिएको बताए । विभिन्न पालिकामा लगत संकलन गरि राष्ट्रिय भुमी प्रणालीमा प्रविष्ट गरेपछि मात्र सेतो पुर्जा दिएको उनले बताए । उनका अनुसार भूमी आयोगले निर्णय गरेर जग्गा उपलब्ध गराउनेछ । उमेरले ६५ वर्ष कटेकी भुजामति पुन पहिलोपटक जग्गा धनी हुन पाएकोमा हर्षित देखिन्थिइन् । ‘खुशीले मन गद्गद् भइरहेको छ, खुलेर हाँस्न पनि दाँत छैनन्’ पुन भन्छिन, ‘नेताहरुले जहिल्यै आश्वासन मात्र दिए । अव त पुर्जा पनि पाइने भएन, हामी सधैका सुकुम्बासी भन्ने लाग्थ्यो । आज अस्थायी निस्सा पाउँदा पनि धेरै खुशी लागेको छ । अव रातो पुर्जा पनि पाइन्छ भन्नेमा ढुक्क छु ।’
दुई छोरा दुई छोरी रहेका पुनका श्रीमानको पहिले नै मृत्यु भएको थियो । उनले पोखरा–७ प्रगतिमार्ग जहाँ बस्दै आएकी छन् त्यहीको सेतो पुर्जा पाएकी हुन् । ‘रविन्द्र अधिकारीले पुर्जा दिन्छु भने’ उनले भनिन, ‘उनको श्रीमती पनि सांसद बनिन पुर्जा नै दिन्छु भनिन तर, दिइनन् । पाइन्छ की पाइदैन भन्ने थियो अहिले पुर्जा पायौ ।’ उनले ढिलै भए पनि पुर्जाधनी हुन पाएको बताइन् । पोखरा–७ कै अशोक मल्लले आफू जस्तै अन्य सुकुम्बासीले पनि छिट्टै पुर्जा पाए ढुक्क हुने बताए । मल्लले ३४ वर्षदेखी सरकारी जग्गामा बसोबास गर्दै आएको बताए ।