पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ ।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले प्राइम सहकारीमा २ हजार ३ सय बचतकर्ताको १ अर्ब चौवन्न करोड १५ लाख ८ हजार १ सय ४२ रुपैयाँ अपचलन तथा हिनामिना भएको भन्दै अनुसन्धानको माग गर्दै प्रहरीलाई मंगलबार प्रतिवेदन बुझाएको हो ।
उक्त जाहेरीको आधारमा प्रहरीले सहकारी ठगीमा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, सञ्चालक समिति अध्यक्ष शंकर कार्की, सहकारी व्यवस्थापक निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदिप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ रहेका छन् ।
उनीहरुलाई सहकारी ऐन, २०७४ बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।