पटकपटक फोहोर व्यवस्थापनको विषयमा विवाद उठ्दै आइरहे पनि पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनको टुंगो लगाउन सकेको थिएन । अव भने, महानगरले फोहोर व्यवस्थापन वडास्तरबाटै गर्ने भएको छ । महानगरले पटकपटक छलफल गरेर उक्त टुंगो लगाएको हो । निर्माण सकिएको अन्तराष्ट्रिय विमानस्थलमा जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने भएपछि उडान रुटमा पर्ने पोखरा १४ बाच्छेबुडुवाको ल्यान्डफिल साइट पुर्न थालिएको हो ।
केही दिनभित्रै ल्यान्डफिल पुरिसक्ने महानगरले जनाएको छ । पोखरा विमानस्थलको भव्य उद्घाटनको तयारीमा नेपाल नागरिक उड्ययन प्राधिकरण लागिरहेको छ । यसअघि नै एरोथाइ कम्पनीको जहाजले मंसिर ५ देखि ११ गतेसम्म यान्त्रिक उडान सकेर प्रतिवेदन समेत दिइसकेको छ करिब ४ हजार रोपनी क्षेत्रफलमा २२ अर्ब लगानीको विमानस्थल निर्माण गरिएको हो ।
४ वर्षअघि देखि ल्यान्डफिल हटाउन आयोजनाले गरेको पत्राचारलाई बेवास्ता गरेको महानगरले अन्तिमसम्म जग्गा खोजी गर्न नसक्दा वडामै फोहोर पुर्न थालिएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले कतै खाल्डा वा भुवान भएको ठाउँमा फोहोर हालेर पुर्न थालिएको बताए । औपचारिक रुपमा आइतबारदेखि फोहोर ल्यान्डफिल साइटमा लैजान बन्द गरेको उनले बताए । ‘अब ४ महिनाजति वडामै व्यवस्थापन गर्छौं त्यसपछि दीर्घकालीन व्यवस्थापन गर्दै फोहोरलाई आम्दानीको माध्यम बनाउछौं’ उनले भने ।
महानगरले अहिले ३ ठाउँमा जग्गा खोजीगरिरहेको छ । एक सूचना जारी गरी महानगरले अब ल्यान्डफिल साइटमा फोहोर नलैजान आग्रह गरेको छ । नयाँ जग्गा खोजीका लागि पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन भएको छख । २१, २२ र ३३ मध्ये कुनै एउटा वडामा फोहोरको ल्यान्डफिल साइट व्यवस्थापन हुने महानगरले बताएको छ ।
फोहोर व्यवस्थापनमा महानगरको भावी योजना के छ ?
विभिन्न मुलुकहरूमा फोहोरबाट बायोग्याँस, विद्युत्, प्रांगारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत विभिन्न सामाग्रीसमेत उत्पादन गरिरहेको छ । पोखरा महानगरपालिकाले पनि सोही अनुसार कारखाना बनाउने योजना तय गरेको छ । गोल्डरस कम्पनीले अध्ययन गरेर पोखराको फोहोरबाट ८ दशमलव २ मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने प्रतिवेदन दिएको थियो । उक्त कम्पनीले २ वर्ष लगाएर अध्ययन गरेको उक्त अध्ययनले पोखराबाट दैनिक १ सय टन फोहरमैला संकलन गर्ने योजना सुनाएको थियो ।
१ सय टन फोहोर संकलन भए ५ दशमलव २ देखि ८ दशमलव २ मेगावाटसम्म विद्युत उत्पादन हुने रिपोर्ट छ । उक्त प्रोजेक्ट सम्पन्न गर्न करिब २ अर्ब ४० करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान थियो आयोजनामा ३० प्रतिशत महानगरबासीको सेयर हुने र बाँकी कम्पनीले लगानी गर्ने बताइएको थियो तर उक्त प्रस्ताव त्यसै थन्किएर बसेको छ । गोल्डरसले ३० वर्षसम्मको लागि सम्झौता गरेर १ वर्षभित्र काम सुरु गरी दोस्रो वर्षबाट उत्पादन थाल्ने बताएको थियो । अहिले यहाँ अध्ययनभन्दा निकै बढी फोहोर उत्सर्जन हुन्छ अझै बढी बिजुली उत्पादन हुन सक्छ । मेयर आचार्यले अहिले पनि धेरै कम्पनीहरु ऊर्जा उत्पादनका लागि चासो दिएर आएका बताए ।
