पोखरा महानगरभित्र संचालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिने भएको हो ।
शुक्रवार बसेको सरोकारवालासहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख धनराज आचार्यले बताए । उनका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो । यसले विद्यार्थीलाई एसइई परीक्षाका लागिसमेत मार्गदर्शन प्रदान गर्ने उनको विश्वास छ ।
‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै विद्यालयमा तल्लो तहका नियमित परीक्षाका रूपमा जस्तै सीमित भयो’ उनले भने, ‘अव यसलाई उनीहरूको निकट भविष्यमा हुने विद्यालय तहको निकै महत्त्वपूर्ण मानिने एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा विकास गर्नु पर्दछ । ताकी विद्यार्थी मानसिक रूपमा पनि त्यसका लागि तयार होस् ।’ यसो गर्दा कक्षा ८ का विद्यार्थीलाई परीक्षाका सम्बन्धमा नयाँ अनुभूति पनि हुने र यो एसइई परीक्षाको पूर्व अभ्यासका रूपमासमेत महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताए ।
यसले अन्तर विद्यालय विद्यार्थी घुलमिल, नयाँ साथीसँग भेटघाट, नवीन वातावरणमा सामञ्जस्ययता, आफ्नो विद्यालय र अन्य विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको अनुभूति लगायतमा विद्यार्थीलाई नयाँ सिकाइ प्रदान गर्ने विश्वास गरिएको महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए । उनका अनुसार महानगरपालिकाले विद्यार्थीको सिकाइ प्रवर्द्धनका लागि विभिन्न किसिमका रचनात्मक उपाय अवलम्बन गर्दै आइरहेको छ । सोही अनुसार आधारभूत तहको परीक्षा प्रणालीमा सुधारसहित यसलाई समयानुकूल बनाउन लागिएको उनले बताए ।
शिक्षा समितिको बैठकले परीक्षा सञ्चालनका लागि विद्यार्थीलाई पायक पर्ने गरी ३३ वटा परीक्षा केन्द्र उपयुक्त हुने प्रस्तावसमेत गरेको छ । तर, विद्यालय शिक्षाका सरोकारवाला (प्याव्सन, एन प्याव्सन, युनिप्स र पेसागत संघसंगठन)सँग आवश्यक छलफल तथा परामर्श गरी यसलाई टुङ्ग्याइने छ । परीक्षा केन्द्र तोक्दा सामान्यतया परीक्षा सञ्चालन प्रणालीको मापदण्डका आधारमा विद्यार्थीलाई पायक पर्ने गरी नै तोकिएको समितिले जनाएको छ । यस वर्ष पोखरामा १० हजार ५२२ जना विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी हुनेछन् । जसमा ६ हजार ५ सय संस्थागत विद्यालयका रहेका छन् भने, ४ हजार २२ जना विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् ।
महानगरपालिकामा ८ हजार बढी विद्यार्थी सामुदायिक विद्यालयमा थपिएका छन् भने, यसलाई व्यवस्थित गर्न हरेक सामुदायिक विद्यालयमा बाल विकासका कक्षा अनिवार्य गरिएको छ । यसले महानगरपालिकाभित्रको शिक्षालाई व्यवस्थित गर्न र आधारभूत तहको शिक्षाको पहुँचमा सबै विद्यार्थीको सहभागिता सुनिश्चित गर्न मद्दत पुगेको छ ।