पोखरामा नक्कली परीक्षार्थी पक्राउ परेका छन । सोमबार प्रदेश लोक सेवा आयोगले लिएको परीक्षामा सहभागी हुन आएका जुम्लाको चन्दननाथ नगरपालिका–९ का अनुराग गिरी र सोही जिल्लाको मालिकाबोता–८ का पदम बुढा पक्राउ परेका हुन् ।
आयोगले वन रक्षक (वनपाले) को परीक्षा लिएको थियो । पक्राउ परेका दुवै जनालाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले बताए । आयोगका अनुसार नागरिकता प्रमाणपत्र नम्बर ६०–८९७ र रोल नम्बर १०४० का वास्तविक परीक्षार्थी चन्दननाथका विनोद गिरी र नागरिकता प्रमाणपत्र नम्बर ६०–३५३ र रोल नम्बर ११७१ का वास्तविक उम्मेदवार मालिकाबोटाका खेमराज रावत हुन् । अनुरागले विनोद र पदमले खेमराजको परीक्षा दिन सहभागी भएका थिए ।
आयोगले १ सय दरबन्दी खुलाएकोमा १३ हजार परीक्षार्थी सहभागी छन् । जेठ २८ देखी असार २३ गतेसम्म पहिलो चरणमा शारीरिक तन्दुरुस्ती परीक्षण संचालन हुनेछ । सोही अन्तर्गत शारीरिक परीक्षण र दौड भइरहेको छ । वन रक्षकको लागि दौड, पौडी र रुख चढ्ने प्रतिस्पर्धामा पास भएपछि मात्र लिखित परीक्षामा सहभागी हुन सकिन्छ ।
रेखा विशेषज्ञ (औठा छाप)ले नक्कली परीक्षार्थी पत्ता लगाएको नेपालले बताए ।
गण्डकी प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४६ मा आयोगले प्रकाशन गरेको विज्ञापन बमोजिम परीक्षामा कुनै व्यक्तिले पेश गरेको विवरण झुट्टा वा गलत प्रमाणित भएमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त, परीक्षा, अन्तर्वार्ता वा नियुक्तिको सिफारिस रद्ध गर्न सक्ने व्यवस्था गरेको छ । सोही ऐनको ऐनको दफा ३० मा कुनै उम्मेदवारले कुनै परीक्षा केन्द्रमा अनियमित काम कारवाही गरेमा वा आयोगले तोकेको शर्त उल्लंघन गरेमा आयोगले त्यस्तो उम्मेदवारको परीक्षा रद्ध गरी त्यसपछी हुने कुनै पनि विज्ञापन बमोजिमको परीक्षामा आयोगले तोकेको अव िसम्म निजलाई उम्मेदवार हुन नपाउने गरी निलम्बन गर्न सक्ने व्यवस्था गरेको ।
नक्कली उम्मेदवार खडा गरी परीक्षा दिन लगाउने विनोद गिरी र खेमराज रावतलाई गण्डकी प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३० बमोजिम उनीहरुको परीक्षा रद्ध गरि आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा ५ वर्षसम्म सहभागी हुन नपाउने गरी निलम्बन गरिएको अध्यक्ष नेपालले बताए । उनका अनुसार नक्कली परीक्षार्थीलाई भने प्रहरीले नै कारबाही गर्नेछ ।