पानीले भरिभराउ फेवाताल । तालमाथि डुंगैडुंगा । दशैको समय घुम्न आउने आन्तरिक पर्यटकले पोखराको फेवाताल भरिभराउ छ । देशको विभिन्न ठाउँबाट घुम्न आउनेको ओइरो लागेको छ ।

लामोसमयदेखि उथलपुथल भएको पोखरा अहिले जागेको छ । होटल, रेष्टुरेन्ट, डुंगा, प्याराग्लाइडिङ लगायतका व्यवसायीलाई अहिले भ्याईनभ्याई छ । बाह्रय पर्यटकभन्दा आन्तरिक पर्यटकको घुइँचो बढी देखिन्छ । दशैको मौका पारि घुम्न आउने आन्तरिक पर्यटकको संख्याले यतिबेला पोखरामा भीड बढेको हो ।

पोखराको लेकसाइड व्यस्त छ । मानिसलाई पैदल ओहोरदोहोर गर्न पनि गाह्रो छ । दिनहुँ लाखौ पर्यटक भित्रिएको पोखराका व्यवसायी स्वंम बताउछन् । होटल, रेष्टुरेन्टका त कुरै छाडौ ठेलाको पानीपुरी र चटपट पनि लाइन नबसी खान पाइदैन । यसो त ठेलाका साना व्यवसायीलाई पनि दशैको बेला भ्याईनभ्याई छ । आन्तरिक पर्यटकसंगै इन्डियन पर्यटक पनि आउने क्रम जारी रहेको होटल व्यवसायी हरि भुजेलले बताए ।

टानका निवर्तमान अध्यक्ष समेत रहेका भुजेलले समग्र टुरिजम त्यति चलायमान नभएपनि अहिले आएका पर्यटकको संख्या हेर्दा नतिजा राम्रो देखिएको बताए ।

उनका अनुसार पोखराको अन्य स्थानमा भन्दा लेकसाइडमा पर्यटक बढी छन् । दशैको आसपासमा त होटल भरिए । अहिलेको भीड हेर्दा समग्रमा ७० प्रतिशत भरिभराउ देखिन्छ ।

दोस्रो लकडाउनले नैर्सयता छाएको बेला अहिले उत्साह थपिएको छ । पर्यटकको चाप हेर्दा सडक महोत्सवमा हुने भीड भन्दा केही कम भएपनि भीड राम्रो रहेको व्यवसायी बताउँछन् ।
