पोखरामा बढ्दो ट्राफिक जाम

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लोसमय पोखरामा सवारी साधनको संख्या बढ्दै गएपछि ट्राफिक जाम पनि बढ्न थालेको छ । राजमार्ग मात्र नभई पोखराका प्रत्येक चोकमा उत्तिकै भीड लाग्छ । साँघुरा सडक । पैदलयात्रीलाई ओहोरदोहोर गर्न पनि सास्ती हुन्छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार प्रत्येक चोकमा ट्राफिक खटाइएको भएपनि भीडलाई व्यवस्थापन गर्न समस्या छ । यसो त ट्राफिक प्रहरीको जनशक्ति पनि कम छ । ट्राफिक कार्यालय प्रमुख अमृतबहादुर बस्नेतले आन्तरिक र बाह्रय पर्यटकको गन्तव्य पोखरा भएकाले सवारी चाप बढ्दो रहेको बताए ।

‘पोखरा शहरीकरण हुदै छ’ उनले भने, ‘सडकको अवस्था उस्तै छ । अव्यवस्थित ट्राफिक चुनौति थपिएको छ । पछिल्लोसमय महानगरभित्र खानेपानी र ढल निकासको कुरा छ । यसले गर्दा जताततै सडक खनिएको छ । जसका कारण व्यवस्थापनमा चुनौति थपिएको हो ।’


सवारी चालक बाबुराम पोखरेलले चार÷पाँच बर्षको अन्तरालमा पोखराका चोक भीडल देख्नै नसकिने भएको बताए ।
‘पहिले चोक टाढैबाट देखिन्थ्यो’ उनले भने, ‘अहिले सवारी साधनको लर्को मात्र देखिन्छ ।’ उनका अनुसार अहिले पोखरामा थेग्न सकिने जाम छैन् । नीजि सवारी साधनको संख्या बढ्दै गएपछि जाम बढ्दै गएको चालकहरुको अनुभव छ । ट्राफिक प्रहरीले अहिलेसम्म चोकचोकमा ट्राफिक खटिएर जाम व्यवस्थापन गरेपनि अवका दिनमा यसरी व्यवस्थापन गर्न नसकिने बताएको छ ।

प्रहरी निरीक्षक बस्नेतका अनुसार डिजिटल व्यवस्थापनमा जान जरुरी छ । ‘पोखराको ठूलो चुनौति भनेको चाइनापुलदेखी पृथ्वीचोक र सृजनाचोकसम्म हो’ उनले थपे, ‘यहाँ ट्राफिक व्यवस्थापन सवैभन्दा बढी गारो छ ।

तीनवटै हाइवय एउटै प्वइन्टमा आउने । पोखरामा गतिलो बसपार्क नहुदाँ पनि समस्या भएको हो ।’ प्रहरीका अनुसार पोखरामा २ लाख भन्दा बढी सवारी साधन इन्ट्री भएका छन् ।

दैनिक ३५ सयदेखी ४ हजारको हाराहारीमा पोखरामा सवारी भित्रिन्छन । यातायात व्यवस्था कार्यालय सवारी कास्कीका अनुसार आर्थिक बर्ष २०७७/७८ सम्म २ लाख ६० हजार सवारी साधन दर्ता भएका छन् ।

जसमध्ये लगत कट्टा गर्दा २ लाख ५० हजार रहेका छन् । हालसम्म सवारी दर्ताको संख्या २ लाख ८० हजार पुगेको छ । कार्यालय प्रमुख डिल्लीराम रिजालले पोखराको भ्यालीमा मात्रै ४ लाख सवारी साधन गुड्ने बताए ।

उनले करिव ५ लाख सवारी उपत्याका र आसापसका जिल्लामा गुड्ने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *