पाँच/सात बर्षअघि पोखराका कुनैपनि चोकमा ठूलो भीडभाड हुदैनथ्यो । चोकमा जाम प¥र्यो भनेर कहिलै गाडी रोक्नुपरेन । विरामी होस या अन्य पेसेन्जर कहिलै दुख पाएनन् । सहजै यात्रा हुन्थ्यो । तोकिएको समयमै गन्तव्य पुगिन्थ्यो । यो भनाई सवारी चालक चक्रपाणी पोखरेलको (बाबुराम) हो । ट्राफिक जाम कस्तो हुन्छ ? काठमाण्डौ गएपछि मात्र उनलाई अनुभव भएको थियो ।
उनी भन्छन, ‘पहिलेपहिले कहिलेकाँही काठमाण्डौ जादा जाम देख्दा रंग लाग्थ्यो ।’ तीन/चार बर्षको अन्तरालमा पोखरामा ट्राफिक जाम ह्रवात्तै बढेको अनुभव उनमा छ । ‘अहिले पोखरामा पनि थेग्न सकिने जाम छैन’ उनले भने, ‘राजमार्ग मात्रै होइन पोखराका प्रत्येक चोकचोकमा पनि उत्तिकै भीड छ ।’ उनले सडकमा ट्राफिक जाम बढेसंगै आफ्नो गाडीमा यात्रु पनि घट्दै गएको बताए । दिनानुदिन जाम बढ्दै गएको बताउदै उनले नीजि सवारी साधन सहज भएकाले सार्वजानिक यातायातमा पहिलेजस्तो यात्रुको चाप नहुने बताए ।
‘विद्यार्थी, सरकारी कर्मचारी, वैंकर्स, व्यवसायी सवैका आ–आफ्ना साधन छन्’ उनले थपे, ‘समयमै पुग्नुपर्ने र अत्यावश्यक भएकाले पनि नीजि साधन बढे । यसको असर हामीलाई प¥यो ।’ उनले सडक सवारी साधनको चाप बढेपछि सडक साँघुरो बन्दै गएको बताए । प्रत्येक चोकमा ट्राफिक खटाइएको भएपन भीडलाई व्यवस्थापन गर्न समस्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलेले जनाएको छ । ट्राफिक कार्यालय प्रमुख अमृतबहादुर बस्नेतले आन्तरिक र बाह्रय पर्यटकको गन्तव्य पोखरा भएकाले सवारी चाप बढ्दो रहेको बताए । ‘पोखरा शहरीकरण हुदै छ’ उनले भने, ‘सडकको अवस्था उस्तै छ । अव्यवस्थित ट्राफिक चुनौति थपिएको छ । पछिल्लोसमय महानगरभित्र खानेपानी र ढल निकासको कुरा छ । यसले गर्दा जताततै सडक खनिएको छ । जसका कारण व्यवस्थापनमा चुनौति थपिएको हो ।’
बस्नेतले अहिलेसम्म चोकचोकमा ट्राफिक खटिएर जाम व्यवस्थापन गरेपनि अवका दिनमा यसरी व्यवस्थापन गर्न नसकिने बताए । उनका अनुसार डिजिटल व्यवस्थापनमा जान जरुरी छ ।
‘पोखराको ठूलो चुनौति भनेको चाइनापुलदेखी पृथ्वीचोक र सृजनाचोकसम्म हो’ उनले थपे, ‘यहाँ ट्राफिक व्यवस्थापन सवैभन्दा बढी गारो छ । तीनवटै हाइवय एउटै प्वइन्टमा आउने । पोखरामा बसपार्कको अवस्था पनि नाजुक छ । बसपार्क नै छैन भन्दापनि हुन्छ ।’ उनले बसपार्क निर्माणको लागि पोखरा महानगर र सरोकारवालासंग छलफल भइरहेको बताए । पोखरामा बसपार्क बन्यो भने सवारी जाम पनि केही कम हुने उनको भनाई छ । ट्राफिक लाइटको पनि व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको उनले बताए । कार्यालयका अनुसार ट्राफिक जनशक्तिको पनि ठूलो समस्या छ । जम्मा दरबन्दी २९ छ । प्रदेश ट्राफिक कार्यालयबाट सहयोग मागी काम गर्नुपरेको कार्यालयले जनाएको छ । प्रदेशबाट खटिएकासहित ट्राफिकको संख्या ९० पुगेपनि अहिले फिल्डमा दैनिक ६५ जना खटिन्छन् । ‘एकजनाले १४ घण्टा डियुटी गर्नुपरेको छ’ प्रहरी निरीक्षक बस्नेतले भने, ‘पोखरामा २ लाख भन्दा बढी सवारी साधन इन्ट्री भएका छन् । दैनिक ३५ सयदेखी ४ हजारको हाराहारीमा पोखरामा सवारी भित्रिन्छन ।’
पहिले पसल अगाडी पनि खुलमखुला ठाउ“ रहन्थ्यो । अहिले बाटो कटेर पसल आउन पनि समस्या हुने पृथ्वीचोकस्थित प्रेरिना बलबहादुर सुन चा“दी पसलकी संचालक डिलमाया सुनार भन्छिन, ‘जोखिम पनि उत्तिकै छ । अहिलेका केटोकटी लापारबाही तरिकाले गाडी चलाउँछन् । बाटो वारपार गर्नै गाह्रो ।’ उनले घर वारी पसल पारी भएपनि सडक क्रस गर्नै निकै समस्या हुने बताइन् । ‘पसल अगाडी अहिले खुट्टो राख्ने ठाउँ हुदैन’ उनले थपिन्, ‘मोटरसाइकल, स्कुटर र ट्याक्सी पार्किङ मात्र हुन्छ ।’ उनले स्याङ्जा हुदै बुटवल पुग्ने रुट पनि पर्ने भएकाले निकै भीड बढेको बताइन् । यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले सवारी साधनको संख्या थपिदै जानु र पूर्वाधारको अवस्था ज्युँकात्युँ रहदा पोखरामा पछिल्लोसमय सवारी जाम ह्रवात्तै बढ्को बताए । ‘भइरहेका सडकको गुणस्तर छैन’ उनले भने, ‘सा“घुरा सडक । जसले गर्दा चापसंगै जाम बढेको छ ।’ रिजालले पोखराको भ्यालीमा मात्रै ४ लाख सवारी साधन गुड्ने बताए ।
कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७७÷७८ सम्म २ लाख ६० हजार सवारी साधन दर्ता भएका छन् । जसमध्ये लगत कट्टा गर्दा २ लाख ५० हजार रहेको रिजालले बताए । उनका अनुसार चालु आवको असोजसम्म २ लाख १६ हजार मोटरसाइलक दर्ता भएका छन् । हालसम्म सवारीको दर्ता २ लाख ८० हजार पुगेको उनले बताए । ‘यी सवारी साधन पोखरा उपत्यकाभित्र र गण्डकी प्रदेशका केही भागमा चल्नेगरी दर्ता भएका छन्’ उनले भने, ‘अन्य प्रदेशमा दर्ता भएका सार्वजानिक यातायात संचालनको लागि पनि पोखरा आउने गरेको देखिन्छ ।’ उनले करिव ५ लाख सवारी उपत्याका र आसापसका जिल्लामा गुड्ने गरेको बताए ।
