दुई बर्षपछि पोखरामा पुनः भाइटीका महोत्सव गरिएको छ । कोरोनाका कारण दुई बर्षदेखी रोकिएको महोत्सवलाई निरन्तरता दिइएको हो । १४ औँ संस्करणको रुपमा महोत्सवले निरन्तरता पाएको हो । महोत्सव पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गरेको हो ।
शनिवार भाईटीका महोत्सवमा २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् । पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका छात्राले विदेशी पर्यटकलाई टीका लगाइदिएका हुन् । तिहारको अन्तिम दिन भाइटीकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जनाए । नेपाली संस्कृति संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको प्रवर्द्धनमा सघाउने उद्देश्यले भाइटीका कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।
महोत्सवमा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले बताए । उनका अनुसार महोत्सवमा टीका ग्रहण गर्न कतिपय विदेशी नागरिक दोहोर्याएर समेत सहभागी भएका थिए । विदेशी नागरिकलाई टीका लगाइदिएपछि उनीहरुलाई सयपत्री फूलको माला, टोपी र सेलरोटी लगायतका परिकार छात्राले पस्किएका थिए । उक्त अवसरमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । संघका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटीकको महत्वबारे विदेशी नागरिकलाई जानकारी गराएका थिए ।
