पोखरामा मतगणनामा रोकियो

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरका दुई वडामा पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने अडान नेकपा एमालेले लिएपछि पोखरामा जारी मतगणना रोकिएको छ । पोखराका दई वडामा पुनःमतगणनाको माग गर्दै एमालेका प्रतिनिधि मतगणनास्थल प्रवेश गरेका छैनन् ।
पोखराका दुई वडामा मुचूल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन बुझाएको थियो । वडा १८ र ३१ को पुनः मतगणना गर्नुपर्ने माग गरेको छ । गण्डकीका अध्यक्ष नवराज शर्माले निवेदन दिएका हुन् । उक्त निवेदन उपर सुनुवाइ नहुँदासम्म बाँकी मतगणनामा सहभागी नहुने एमालेले जनाएको छ ।
१८ र ३१ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । वडा १८ मा ४ हजार ३ सय ४८ मत खसेकोमा मतगणनाका क्रममा ९ मत कम अर्थात ४ हजार ३ सय ३९ मतपत्र भेटिएको थियो । कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले मात्रै एमाले उम्मेदवारलाई पराजित गरेका थिए । तिमिल्सिनाले १६४३ मत ल्याउँदा एमालेका पुष्कलबहादुर थापाले १६४० मत पाएका थिए ।
पोखरा ३१ मा ४ हजार ४ सय ८१ मत खसेकोमा मतपेटिकामा ३ मत कम भेटिएको थियो । कांग्रेस उम्मेदवारले १ सय ६१ मतान्तरले एमालेलाई हराएका थिए । कांग्रेसका ढकनाथ कँडेलले १८९८ मत ल्याउँदा एमालेका चिरञ्जीवी बञ्जराले १७३७ मत पाए ।
पोखराका ३३ मध्ये हालसम्म कांग्रेसले २२ र एमालेले ८ वटा वडाका अध्यक्ष जितेको छ । गणना रोकिएका २२ मा स्वतन्त्र उम्मेदवार, ३२ र ३३ मा कांग्रेस उम्मेदवारको अग्रता छ । हालसम्म १ लाख ३९ हजार ४ सय ११ मतगणना भएको छ । १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा ३ हजार ८ सय १५ गन्न बाँकी छ । हालसम्म सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मेयर प्रत्याशी धनराज आचार्य एमालेका उम्मेदवार कृष्णबहादुर थापाभन्दा ५ हजार ४ सय ८५ मतले अघि भएकोले जित सुनिश्चित भइसकेको छ ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ९ सय ९० मतले पछि पार्दै जित सुनिश्चित गरेकी छन् । पोखरा महानगरको अन्तिम परिणाम मंगलबार नै घोषणा गर्ने भनिए पनि एमालेका कारण अनिश्चित भएको छ । गठबन्धन आवद्ध दलका कार्यकर्ता भने विजयी ¥यालीमा सहभागी भइसकेका छन् ।
कांग्रेसले पनि माग्यो पुनः मतगणना
पोखरा महानगरपालिकामा कांग्रेसले पनि दुई वडामा पुनःमतगणनाको माग राखेको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन बुझाएको जनाएको छ । कांग्रेसले वडा १ र १७ मा पुनः मतगणनाको माग गर्दै निवेदन बुझाएको हो । उक्त वडाको नतिजा आफ्नो प्रतिकूल हुने गरी सुनाइएको र केही मत गायब पारिएको जानकारी प्राप्त भएकोले पुनः मतगणना गर्नुपर्ने कांग्रेस उम्मेदवारले बुझाएको निवेदनमा उल्लेख छ ।
दुई वडामा एमालेका उम्मेदवार विजयी भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *