पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । विहीवार पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा रहने गरि जिल्ला न्यायधिश श्रीकृष्ण भट्टराईले कार्यालयको उद्घाटन गरेका हुन् । यस कार्यालय पोखरा महानगरको निर्वाचनमा केन्द्रित रहनेछ । कार्यालय उद्घाटनसँगै मुख्य निर्वाचन अधिकृत भट्टराईले पद वहाली समेत गरेका थिए ।

पद वहाली गर्दै उनले महानगरको लागि उपत्यका नगर विकास समितिको कार्यालय प्रयोग गरिए पनि अन्य पालिकाको लागि पालिका अन्तर्गत नै कार्यालयको उद्घाटन गरिने बताए । ‘हामीले निर्वाचन आयोगले तोकेअनुसार आफ्नो जिम्मेवारी पुरा गर्नेछौ’ उनले भने, ‘आयोगको तालिका अनुसार मनोनयत दर्ता गर्ने, मतदानपछि मत गणना गर्ने र निर्वाचित जनप्रतिनिधिलाई जिम्मा लगाउँछौ ।’

उनले जिल्ला समन्वय समितिको निर्वाचन गरेपछि जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरणसँगै आफ्नो जिम्मेवारी पनि पुरा हुने बताए । ‘जुनसुकै पार्टीवाट निर्वाचित भए पनि राजनीतिको आस्था विर्सिएर जनप्रतिनिधिको भाव पुरा हुने गरि कार्य सम्पदान गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु’ उनले भने ।