पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी पीडितले पोखरामा कालो झण्डा देखाएका छन् । मंगलबार पार्टीको प्रदेशस्तरीय वैठकमा सहभागी हुने पोखरा आएका लामिछानेलाई विरौटास्थित सहकारी पीडितले कालो झण्डा देखाएका हुन् ।
रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठक बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा चलिरहेको छ । बैठकस्थलमा छिर्ने क्रममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन् । उनीहरुले लामिछानेविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर कास्की प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो माग दाबीसहित २०८० असोज १८ गते कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक थिए । सुरुको अनुसन्धानमा लामिछाने र पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसहित शंकास्पद भूमिकामा देखिएका व्यक्ति अनुसन्धानको दायरामै आएका थिएनन् । सहकारीपीडितले गत माघमा पूरक जाहेरी दिएका थिए भने पोखरा महानगरपालिकाले पनि अध्ययन गराएको थियो । महानगरको अध्ययन प्रतिवेदनमा लामिछानेसहितका व्यक्तिका नाम किटान गरिएको छ ।
थप अनुसन्धानका लागि सीआईबीका तत्कालीन प्रमुख किरण बज्राचार्यले सहकारी ठगी प्रकरणमा कास्की प्रहरीलाई सघाउन इन्स्पेक्टर नेतृत्वको टोली पठाएकी थिइन् । कास्की प्रहरी र सीआईबीको टोलीले सूर्यदर्शन सहकारी प्रकरणमा लामिछानेसहितका व्यक्तिका नाममा कर्जा प्रवाह भएको किटान गर्दै अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।