कालो मास्कले मुख छोपेकी एक महिला पिठ्युमा बच्चा बोकेर दिउँसोको टनटनपुरे घाममा नारा लगाइरहेकी थिइन् । भन्दै थिइन्, ‘हामीलाई न्याय दे, सहकारीमा राखेको हाम्रो रकम फिर्ता दे ।’ पोखरा महानगरपालिका–७ राष्ट्र बैंकचोकस्थित एउटा हुलमा नारा जुलुसमा देखिएकी उनी पोखरा–२ विन्ध्याबासिनी निवासी आशा केसी हुन् । पोखरा–४ नालाको मुखस्थित रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थामा उनको ६४ लाख रुपैयाँ बचत छ । उक्त रकम हिनामिना भएपछि माग गर्दै आन्दोलनमा आएकी हुन् ।
‘हामीले बचत गरेको पैसा रवि र जिवीले लगे भन्छन’ केसी भन्छिन, ‘रवि, जिवी जसले लगे पनि लैजाउन तर, हाम्रो पैसा हामीले पाउनुपर्यो ।’ उनले बालबच्चाको मुखमा दुःख गरेर जम्मा गरेको रकम रहेको बताउँदै भन्छिन, ‘अहिले त्यो पैसा नहुँदा घरमा धेरै समस्या भएको छ । परिवारबीच नै झगडा हुन्छ ।’
सूर्यदर्शन सहकारीमा ५ लाख रुपैयाँ जम्मा गरेकी पोखरा–१५ लक्ष्मीटोलकी हिरा गुरुङ भन्छिन, ‘सामान्य रेष्टुरेन्ट चलाएर दैनिकी जम्मा गरेको रकम हो । खाए पनि सकिन्छ की भनेर दुःखले राखेको पैसाको माया लाग्दो रैछ ।’ पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरीको हिरासतमा रहेपछि रकम पाउनुहुन्छ त भन्ने प्रश्नमा उनी भन्छिन, ‘पैसा पाइन्छ या पाइदैन थाहा छैन् । आज सवै जनाले आन्दोलनमा जाउँ भनेपछि आएकी हुँ ।’ उनको साथमा उनको ९ वर्षिया छोरी पनि थिइन्् । श्रीमान वैदेशिक रोजगारमा भए पनि घरको सिंगो व्यावहार आफ्नै काँधमा रहेको उनले बताइन् । पोखरा–१७ विरौटाकी १४ वर्षिया बालिका पनि बाबाको नाममा ५ लाख रुपैया रहेको भन्दै आन्दोलनमा सहभागी थिइन् । सहकारीपीडितको आन्दोलनमा बालबालिकादेखि, महिला र बृद्धबृद्धा पनि सहभागी थिए ।
पोखरा–५ मालेपाटनकी गोमा चापागाईले पोखराको मित्रमिलन सहकारीमा १२ लाख रुपैया बचत रहेको सुनाइन । २०७६ सालमा बचत गरेको उक्त रकम अहिलेसम्म नपाएको गुनासो उनको छ । ‘रवि गलत छन् या सहि त्यो सावित अदालतले नै गर्ला’ उनी भन्छिन, ‘मलाई त आफ्नो पैसाको चिन्ता छ । हजारौ ठग छन् सहकारीमा तिनलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ उनले व्यक्तिसंगको इगो भन्दा पनि सहकारीको रकम हिनामिना गर्नेसंगको इष्र्या रहेको बताइन् । आन्दोलनमा भेटिएकी सीतामाया रानामगरको सूर्यदर्शन सहकारीमा ३५ लाख रुपैयाँ फसिएको छ । उनले रविसंगै जिवी पनि पक्राउ गर्नुपर्ने माग गरेकी छन् ।
सहकारीपीडितको आन्दोलन पोखरा–७ राष्ट्र वैंकचोकस्थित भएको थियो । विहान ११ बजे पोखरा–१७ मुस्ताङचोकस्थित भएको उक्ता आन्दोलन पछि राष्ट्र बैंकचोकस्थित गरिएको थियो । आन्दोलन एक दिनको लागि मात्र गरिएको सहकारीपीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले बताए ।
जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको थियो । रविको समर्थनमा निषेधाज्ञा गरिएको ठाउँ शहिद चोकमा नाराजुलुस भएको भन्दै सहकारीपीडितले राष्ट्र वैंकचोकस्ति आन्दोलन गरेका हुन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो । गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्न उनीहरूको माग छ । गोर्खा मिडिया प्रालिका सञ्चालकका विषयमा निष्पक्ष छानबिन गर्नसमेत उनीहरूको माग गरेका छन् । सहकारीपीडितको आन्दोलनमा कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताको समर्थन थियो । दुई दलका नेता तथा कार्यकर्ता सहभागी भएपछि सुरक्षाकर्मीसंग केही समय भनाभन र सुरक्षाकर्मीका सामानहरु तानातान भएको थियो । आन्दोलनमा भएको झडपमा केही व्यक्ति पनि घाइते भएका थिए ।
सूर्यदर्शन बचत पीडित संघष तथा तदर्थ समितिका अध्यक्ष किरण श्रेष्ठले आन्दोलनको विषयमा छलफल गरिने बताए । ‘भोलीको लागि आधिकारीक निर्णय भएको छैन् । हामी बल्ल घर जाँदै छौ ।’ उनले भने, ‘बेलुका सल्लाह गछौ । रवि लामिछानेविरुद्ध ६ दिनको म्याद थप भयो तत्कालन नगर्ने की भन्ने पनि छ । किन भने थुनछेक बहसको बेला हामी आन्दोलन गर्छौ । रास्वपाले नियमित आन्दोलन गर्यो भन्दैमा हामी प्रतिस्पर्धा गरेर आन्दोलन गर्दनौ ।’
सहकारीपीडितको आन्दोलनमा करिव ५० जना सहभागी थिए । दिउँसो आन्दोलनमा नागरिक समाज, मानवअधिकारकर्मी, सामाजिक अभियान्ता, विभिन्न राजनीतिक दलका व्यक्ति स्वइच्छाले जोडिएको उनले बताए । संघर्ष समितिले आन्दोलनमा जोडिनको लागि यसअघि आहवान गरेको थियो ।समाजवादी क्रान्तिकारीले पनि विज्ञप्ती निकालेर सर्मथन गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले ४९५ जना प्रहरी परिचालन गरिएको बताए । शसस्त्र प्रहरीले ३ सय जना प्रहरी परिचालन गरेको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधित क्षेत्रमा पनि आन्दोलनकारीले आन्दोलन गरेका थिए । मुठमेड हुँदा पनि प्रहरी मुखदर्शक बनेको थियो ।