पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डययन कार्यालयले बिहीबारदेखि आंशिक रूपमा कार्यालय सञ्चालन सुरु गरेको छ । सन् २०२३ को जनवरी पहिलो दिन पुस १७ बाटै सञ्चालनमा ल्याउने तयारीमा रहेको यस विमानस्थल कार्यालयले भवन प्रवेश विधि सम्पन्न गरी सम्बन्धित स्थानबाटै काम हुने गरी कार्यालय शुभारम्भ गरेको हो ।
नागरिक उड्डययन कार्यालय पोखराका प्रमुख विक्रमराज गौतमका अनुसार कर्पोरेट, हवाई सुरक्षा, उडान सञ्चालन महाशाखाको काम अब नयाँ विमानस्थलबाट हुनेछ । ‘जनवरीको पहिलो दिनबाटै अन्तर्राष्ट्रिय विमानस्थ सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउँदै उनले अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी बाँकी काम यतैबाट गर्ने गरी कार्यालयको व्यवस्थापन सुरु गरेो बताए ।
विमानस्थलका अनुसार अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायत सबै तयारी नियमित उडानपूर्व नै पूरा हुनेछन् । विमानस्थलमा बिहानदेखि रातिसम्म उडान हुनेछ । ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार ‘फोर डी’ श्रेणीमा विमानस्थल बनेको हो । विमानस्थलमा १ सय ५० देखि १ सय ८० सिट क्षमताका एयरबस ३२० र बोइङ ७५७ वा सोसरहका जहाज आउजाउ गर्न सक्छन् ।
कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले दुवैतर्फ (नयाँ र पुरानो विमानस्थल) काम गर्दा असहजता भएकाले आंशिक रूपमा नागरिक उड्डययन कार्यालयको कामलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सारिएको बताए । अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ देखि एक सातासम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) भइसकेको छ । थाइल्यान्डबाट आएको एरो थाई कम्पनीको विमानले क्यालिब्रेसन फ्लाइट गरेको हो । कम्पनीको प्रतिवेदन भने अबको २ सातापछि आउनेछ । यतिबेला विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडा कटान भइरहेको छ ।
