पोखरा–धनगढी अव सिधै हवाई उडान हुने भएको छ । बुधबारदेखी बुद्ध एयरले नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सिधा उडान सुरु गरेको हो । नाट्टाको टोली पर्यटन प्रवद्र्धनका लागि बुधबार धनगढी उडेको छ ।
धनगढीमा साताको तीन दिन अर्थात आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । शुक्रबार धनगढीबाट पोखरा उडान हुने नाट्टाले जनाएको छ । उक्त उडानमा सुदूरपश्चिमका तीनजना मन्त्रीसहित टोली पोखरा आउने नाट्टाका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । यसअघि नेपालगन्ज सहर पोखराबाट सिधा हवाई उडानबाट जोडिइसकेको छ । पोखरादेखी धनगढीसम्मको हवाई यात्रा ५५ मिनेटको हुनेछ । यसका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ । बिहान ११ बजेर ४० मिनेट जादाँ पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ बजेर ५० मा फर्किनेछ । प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा गण्डकी प्रदेश सीधा हवाई उडानमा जोडिएको छ ।
यसअघि मधेस प्रदेशको सिमरा, बागमतीको राजधानी काठमाडौंसहित भरतपुर, लुम्बिनीको भैरहवा र नेपालगन्जमा पोखराबाट सिधा उडान हुँदै आएको छ । बुद्ध एयरले पोखरालाई केन्द्र बनाएर नजिकका सहरमा उडान भर्दै आएको छ । केही समयपछि भद्रपुर र विराटनगरमा पनि हवाई उडानको तयारी छ ।
