पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा म्याराथन सफल बनाउन पोखरा महानगरले अपनत्व लिने बताएका छन् । नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं संस्करणको पोखरा म्याराथन सफल बनाउने सन्दर्भमा आयोजित अन्तक्रिया कार्यक्रममा मेयर आचार्यले उक्त कुरा बताए । ‘पोखरा म्याराथन पोखरा महानगरको आफ्नै कार्यक्रम हो । यसलाई सफल बनाउन पोखरा महानगरले सहकार्य संगै आवश्यक कार्यहरु पुरा गर्नेछ’ उनले भने ।
पोखरा म्याराथनले १६ औं संस्करण पुरा गरिसकेकोले पनि यसको आफ्नै गरिमा रहेको बताउँदै मेयर आचार्यले धेरै भन्दा धेरै पोखरेलीहरुलाई सहभागि गराउन सबै वडाहरुले तदारुकताका साथ अधि बढाउन पनि आफूले निर्देशन दिने बताउँदै पोखरा म्याराथनका रुटहरुकोसमेत मर्मत गराउनेतर्फ आफ्नो पहल हुने बताए । महानगरसंग भगिनी सम्वन्ध रहेका मुलुकका खेलाडीलाई निमन्त्रणा गर्नेसंगै नेपालका अन्य शहरका मेयरलाई समेत निमन्त्रणा गर्ने गरी पोखरा महानगरले पत्राचार गर्ने उनको भनाई छ ।
१७ औं सफल पोखरा म्याराथन आगामी फागुन ६ गते शनिबार हुँदैछ । पोखरा रंगशालाबाट सुरु हुने पोखरा म्याराथनले पोखरा महानगरका १ देखि १७ नम्बर वडाको रुटमा आयोजना हुने गर्दछ । पोखरा म्याराथन अन्तर्गत ४२.१९५ किमि, २१ किमि, १० किमि, ५ किमि, ह्विल चियर र दृष्टिविहिन दौड हुनेछन् । पोखरा म्याराथन खुलातर्फ यसवर्ष ५ लाख नगद पहिलो पुरस्कार रहेको छ ।
