पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पहिलो उडाउन हुने भएको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो । पोखरा विमानस्थल ६ महिना अघिदेखी व्यवसायीकरुपमा संचालनमा आएको हो ।
विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरामा आउने पहिलो यात्रुलाई स्वागत गर्नेछन् । सिचुवान एयरलाइन्सको जहाज पोखरामा करिब एक घन्टा रोकिएर त्यसपछि मध्याह्न काठमाडौँ उड्ने गरी उडान तालिका तय गरिएको छ ।
उक्त जहाजमा शाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली तथा आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी एक सय ३५ यात्रु पोखरा ओर्लने विमानस्थलले बताइएको छ ।
२२ अर्व लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १७ अर्थात जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । दुई देशबीच उडानका लागि असार १ मा सम्झौता भएको थियो । यस एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।