पोखरा महानगरपालिका-९ स्थित हङकङ बजारका व्यावसायीले भाडा नदिएपछि ठेकेदारवाला कम्पनीले ताल्चा लगाएको छ । टेन्डर प्रक्रियाको विरोध गर्दै आएका व्यावसायीले पुरानो भाडा नदिएपछि ताल्चा लगाएको हो ।
ठेकेदार कम्पनी गुडलक प्रालिले उक्त बजारका व्यावसायीलाई पटक-पटक सहमतिमा आउन आग्रह गर्दा वेवास्ता गर्दै आएका थिए । कम्पनीले तीन पटकसम्म २४ घण्टे अल्टिमेटम दिदाँसमेत व्यापारीले अटेर गरेपछि गुडलक कम्पनीले बाध्य भएर ताला लगाउन परेको बताएकाे छ । कम्पनीले पुरानो भाडा बुझाई नयाँ सम्झौत गर्न अनुरोध गर्दै आएकाे छ । व्यावसायीले लामोसमयदेखी आन्दोलन गर्दै वार्तामा आउन नमानेपछि बाध्य भएर ताला लगाउनुपरेको गुडलक कम्पनीका सञ्चालकमध्येका तोरण गुरुङले जानकारी दिए । उनका अनुसार व्यावसायीले लामोसमयदेखी आन्दोलन गर्दै आइरहेका छन् ।
सूचनामा भनिएको छ, ‘परिबर्तित अबस्थामा पोखरा मार्केटमा ब्यबसायीहरुलाई कम्पनीले अव्हान गरेको वार्ता र सहमतिको प्रस्ताबलाई बेवास्ता गरेको र पटक पटक सुचना गर्दा समेत अटेर गरी सहमतिको लागि तयार नभएको हुँदा अब व्यक्तिगत सहमतिको अधारमा मात्र स्टलहरु भाडामा लिने/दिने कार्य प्रारम्भ गरिएको छ । अतः त्यहाँ ब्यापार गरि बस्ने ब्यावसायीले आजका मितिसम्म कम्पनीलाई बुझाउनुपर्ने सम्पुर्ण भाडा रकम २४ घण्टाभित्र चुक्ता गरि नयाँ सम्झौता गर्ने वा स्टल खाली गरिदिनु हुन यो सुचना जारी गरिएको छ । साथै तोकिएको मितिसम्म भाडा चुक्ता गरी नयाँ सम्झौता नगरेमा कम्पनीले उक्त स्टलहरु अबको २४ घण्टापछि ताल्चा लगाई कानुन बमोजिम नयाँ सम्झौताको लागि बिज्ञापनमार्फत अन्य नयाँ ब्यबसायी एवं पुरानो ब्यबसायीसँग नयाँ सम्झौता प्रकृया अगाडि बढाउने भएको हुँदा सटर खाली गरि दिनुहुन अनुरोध सहित यो सुचना प्रकाशित गरिएको छ ।’
पोखराको फुटपाथमा छरिएका व्यापारीलाई व्यवस्थापन गर्न ०६९ साल फागुनमा उक्तस्थानमा लगिएको थियो । तत्कालीन पोखरा उपमहानगर, स्थानीय प्रशासन र क्रियाशील ७ राजनीतिक दलको सहमतिमा कृषि सामग्री कम्पनीको ७ रोपनी क्षेत्रमा बजार बसालिएको थियो ।
उक्त क्षेत्र व्यवसायी मिलनप्रसाद तिवारीले कृषि सामग्रीको जग्गा भाडामा लिएर मासिक शुल्क उठाउने गरी हङकङ बजार व्यवस्थापन गर्दै आएका थिए । उक्त सम्झौता गतवर्ष सम्पन्न भएको थियो । कृषि सामग्रीले चैत २१ गते जग्गाको भाडा करिब ४ सय प्रतिशत बढाउने गरी टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डर गुडलक कम्पनीसंग ०८० साउन ११ गते सम्झौता भएको थियो । चार कम्पनीले उक्त टेन्डरका लागि निवेदन दिएपनि सबैभन्दा कम दर लिने गुडलक कम्पनीको नाममा टेन्डर परेको थियो ।
सञ्चालक मध्येका अर्का मिलन तिवारीले भाडा तिरि नयाँ सम्झौता नगरेसम्म ताला नखोल्ने बताए । आफुहरुले राज्यकै कानुनअनुसार चलेको र भाडा वृद्धि आफुले नभई कृषि सामग्रीले नै गरेको र त्यसलाई घटाउन नमिल्ने बताए । उनले हङकङ बजार ब्राण्ड रहेको र व्यापारीलाई सहमतिमा आउने समेत अनुरोध गरे । पोखरा हङकङ बजारमा हाल ४०३ वटा सटरमा ३ सय जनाभन्दा बढी व्यवसायीले व्यापार गर्दै आइरहेका छन् । उता कृषि सामग्री लिमिटेड पोखराले भने सरकारी नीतिअनुसार नै जग्गाको भाडादर कायम गरेको बताउँदै आएको छ ।
