पोखरामा गिद्धको संख्यामा २२ प्रतिशतले बृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष २२ प्रतिशतले बृद्धि भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको संख्या करिब २२ प्रतिशतले बढेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।
पन्छी समाजले हरेक वर्ष जस्तै यसवर्ष पनि पोखरा आसपासका क्षेत्रमा गिद्धको गणना गरेको थियो । सन् २०२३ मा तीन सय ८७ गिद्ध अध्यावधिक गरिएकामा यस वर्ष यो संख्या बढेर चार सय ७१ पुगेको घिमिरेले बताए । उनका अनुसार अध्ययनका क्रममा तनहुँ क्षेत्रमा पनि गिद्धको संख्या बढेको पाइएको छ ।
कास्कीको घाचोक, बाच्छेबुडुवा, पुम्दी–भुम्दी, विजयपुर खोला करिडोर, लामेआहाल तथा तनहुँको गाछेपानी, सिशुवा र भतेरी र दमौली ल्याण्डफिलसाइट गरी एकैपटक आठ स्थानमा छुट्टाछुट्टै टोलीले गणना गरेको समाजले बतायो । समाजले सन् २०१७ देखि पोखरा आसपासमा गिद्धको संख्या अध्यावधिक गर्दै आइरहेको छ ।
गणनामा संकटापत्र गिद्धको सूचीमा रहेको सेतो गिद्ध सबैभन्दा धेरै बढेको देखिएको छ भने अति–संकटापत्र सूचीमा रहेको सुन गिद्ध, सानो खैरो गिद्ध र डंगर गिद्धको संख्यामा पनि सामान्य वृद्धि भएको पाइएको छ । राज गिद्ध यथास्थितिमा छ भने हिमाली गिद्ध घटेको अध्ययनले देखाएको छ ।
सरकारले गिद्ध संरक्षणका लागि ‘गिद्ध संरक्षण कार्ययोजना २०२३–२०२९’ लागू गरेको छ ।