प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्दै छ । सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ ।

आजकाे बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । आज नै छलफल थालनी गरेर उठेको प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए । संघीय संसदमा अवरोध जारी रहेका कारण उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ ।

समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुंगिन सकेको छैन । शुक्रबार पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो । तर, कांग्रेससँगको वार्ता सकारात्मक नभएपछि आजसम्मलाई सारिएको हाे ।

आज पनि कांग्रेसले अवरोध जारी राखे विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ ।

एक नेताका अनुसार शनिबार बसेको शीर्ष नेताको बैठकमा  कांग्रेसले विरोध जारी राखे पनि सरकार अघि बढ्ने छलफल भएकाे छ ।

सहकारी प्रकरणको विषयलाई लिएर अवरुद्ध संसद खुलाउने प्रयासमा प्रधानमन्त्रीले आज पनि बालुवाटारमा शीर्ष नेताको बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *