गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशमा प्रत्यक्ष भन्दा समानुपातिक सांसदकाे हावी रहेकाे बताएका छन् ।
उनले प्रदेशमा सांसद र मन्त्रीकाे भूमिकामा रहदाँ आफ्नाे महत्त्वपूर्ण भूमिका नरहेकाे गुनासाे गरेका छन् । बजेट निर्माणमा आफ्नाे सहभागीता नरहेकाे भन्दै उनले बजेटमा पनि आफूलाई पश्तपात् गरेकाे बताए । सांसदले भन्दा मन्त्री भएर आफूले कम बजेट पाएको दुखेसो उनको छ ।
विहीवार विहान पत्रकारसँग भेटघाट गर्दै मन्त्री थापाले प्रदेशसभा निर्वाचन अन्तिम पटक लड्ने बताएका छन् ।
सांसद र बहालवाला मन्त्री भएपछि कुनै सेवा सुविधा आफ्ना लागि नलिएको बताउँदै चुनावमा टिकट पाउनुपर्ने बताए । `अघिल्लो चुनावमा बागी उम्मेदवार हुँदा पनि जितेको हुँ । अहिले म त्यही क्षेत्रको आकांक्षी हुँ,´ उनले भने, `अन्तिम पटक यहि ठाउँबाटै चुनाव लड्नुपर्छ । पार्टीले सहि मूल्यांकन गर्छ भन्नेमा विश्वस्त छु ।´
आसन्न चुनावमा कास्की प्रदेशसभा क्षेत्र नम्बर २ `ख´बाट चुनाव लड्न उनी आकांक्षी छन् ।
मन्त्री थापाले आफू सांसद निर्वाचित भएपछि पाएको ४० लाख ७१ हजार रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको बताएका छन् ।
सांसद भएर प्रदेश सभा गएपछि पाएको सेवा सुविधाबाट ४० लाख र आफूले थप ५८ लाख खर्च सामाजिक सेवामा गरेको उनले बताए । उनले भने, `प्रदेश सांसद हुँदा होस् वा बहालवाला मन्त्रीका रूपमा मैले कुनै सुविधा आफ्नो लागि लिएको छैन ।´ २०७८ चैतपछि मात्रै ११ लाख रुपैयाँ सामाजिक काममा खर्च गरेको उनले विवरण प्रस्तुत गरे ।
